काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को भारत भ्रमणमा नेपाल-भारत संयुक्त व्यापार फोरमको पहिलो बैठक नयाँ दिल्लीमा सम्पन्न भएको छ ।
बैठकमा नेपाली उद्योगी र भारतीय उद्योगीबीच लगानीका विषयमा बृहत छलफल भएको छ ।
छलफलमा दुई देशका उद्योगी व्यवसायीबीच संयुक्त फोरमले व्यापार प्रवर्द्धनका लागि छलफल भएको छ । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले फोरमको नेतृत्वमा भएको बैठकमा सडक तथा रेलसेवा, वातावरण, नवीकरणीय उर्जा, कार्बन उत्सर्जनका विषय, पूर्वाधारहरु, इन्जिनियरिङ, उच्च शिक्षा, दक्षता अभिवृद्धि तथा विकास, खाना तथा पेय पदार्थहरुको उत्पादन, निर्माण तथा कृषि औजार, सहरी विकास,आइटी सेवा, पर्यटन क्षेत्र क्षेत्र लगानीका लागि पहिचान भएको छ ।
पहिचान गरिएका क्षेत्रको विकासका लागि दुवै देशले व्यापार सम्बन्ध विकास गरी अवसरहरुको खोजी गर्नुपर्ने उल्लेख गरिएको छ । फोरमले दुवै पक्षको आवश्यकतालाई समयअनुसार विविधिकरण गरी दीगो आर्थिक वृद्धि तथा द्विपक्षीय व्यापारको हितका विषयमा काम गर्नुपर्ने सुझाव दिएको बताइएको छ।
बैठकमा नेपालका तर्फबाट महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छा, पूर्वअध्यक्ष सुरज वैद्य, सीएनआइका पूर्वअध्यक्ष हरिभक्त शर्मा, निवर्तमान अध्यक्ष सतिश मोर, सिबिफिनका अध्यक्ष पवन गोल्यान, नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ, महासंघका पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
FACEBOOK COMMENTS