काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले एक दिवसीय सेल्स ट्रान्सफर्मेशन सेसन सम्पन्न गरेको छ।
काठमाडाैंमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको तेस्रो त्रैमासको व्यापार समिक्षा गर्दै आर्थिक वर्ष २०८१/८२ को बाँकी अवधिका लागि रणनीति तय गरिएको हो।
कम्पनीका संचालक कमलेश कुमार अग्रवालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेशनल सेल्स हेड उमापति पोखरेल, विभागीय प्रमुख तथा प्रादेशिक सेल्स प्रमुखहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै संचालक अग्रवालले जीवन बीमा व्यवसायको संवेदनशीलता औंल्याउँदै बीमा पोलिसी केवल कागजी दस्तावेज नभई भविष्यको सुरक्षा गर्ने माध्यम भएको बताए। उनले कम्पनीको उपलब्धिको श्रेय सम्पूर्ण टिमलाई दिँदै बीमा चेतना फैलाउनेतर्फ सबैलाई सक्रिय हुन आग्रह गरे।
प्रमुख कार्यकारी अधिकृत पराजुलीले कम्पनीले हासिल गरेको उपलब्धि बताउँदै २५ औं वर्ष प्रवेशको अवसरमा तय गरिएको लक्ष्यप्रति विश्वास व्यक्त गरे। उनले डिजिटल सेवाहरूलाई सुदृढ बनाउँदै बीमितलाई घरमै सेवा दिने प्रणाली विकास भइरहेको जानकारी गराए।

कार्यक्रममा नेशनल सेल्स हेड पोखरेल लगायत सेल्स विभागका प्रमुखहरूले आ-आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए। सेल्स टिमले बजार विस्तारमा दृढता व्यक्त गर्दै भविष्यमा कम्पनीको रणनीतिक लक्ष्य पुरा गर्न समर्पित हुने प्रतिबद्धता जनाएको थियो।

समापन मन्तव्यमा नायव प्रमुख कार्यकारी अधिकृत कयालले बीमा क्षेत्रमा प्रविधि र विश्वव्यापी परिवर्तनहरूसँग तालमेल मिलाउँदै ज्ञान र सीप अभिवृद्धिको आवश्यकता औंल्याउँदै सबैलाई धन्यवाद ज्ञापन गरे।

नेपाल लाइफले आगामी दिनमा ग्राहक-केन्द्रित सेवा प्रणालीलाई अझ प्रभावकारी बनाउँदै बीमा क्षेत्रमै उदाहरणीय सफलता हासिल गर्ने लक्ष्य लिएको बताइएको छ।