काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड प्राप्त गरेको छ ।
कम्पनीले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले वार्षिक रुपमा प्रदान गर्ने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, २०२४ प्राप्त गरेको हो ।
आइक्यानले शुक्रबार होटेल र्याडिसनमा आयोजना गरेको एक कार्यक्रमबीच महालेखापरीक्षक तोयम रायाले उक्त अवार्ड प्रदान गरेका हुन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार केयालले संयुक्त रुपमा सो अवार्ड ग्रहण गरे ।
कम्पनीलाई जीवन बीमातर्फको विधामा सिल्भर अवार्ड प्रदान गरिएको बताइएको छ । जीवन बीमा समूहमा नेपाल लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०८०/८१ को वार्षिक वित्तीय प्रतिवेदन उत्कृष्ट रहेकाले सो अवार्ड प्रदान गरिएको हो ।
जीवन बीमा कम्पनीहरुमा नेपाल लाइफ इन्स्योरेन्स यो अवार्ड प्राप्त गर्ने पहिलो कम्पनी भएको कम्पनीको भनाइ छ । यस अवार्डले यस कम्पनीको वित्तीय प्रतिवेदन उत्कृष्ट रहेको, खुलासाहरु पर्याप्त रहेको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डहरूलाई शिरोधार्य गर्दै वित्तीय प्रतिवेदन तयार गरेको, वित्तीय पारदर्शिता जवाफदेहिता र संस्थागत सुशासन लाई मध्यनजर गर्दै चुस्त र दुरुस्त रुपमा कार्यसम्पादन गर्दै आएको झल्काउने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
FACEBOOK COMMENTS