काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले व्यवसायी दिपक भट्टको कुनै पनि कारोबारमा आफूहरू संलग्न नरहेको बताएको छ ।
आज शुक्रबार प्रेस विज्ञिप्ति जारी गर्दै कम्पनीले आफ्नो सहायक कम्पनीबाट रकम दुरुपयोग भएको भनेर सञ्चार माध्यमहरूमा आएको समाचार सत्य नभएको स्पष्ट गरेको हो ।
केही दिनअगाडि हिमालयन रि–इन्स्योरेन्स कम्पनीका आधारभूत शेयरधनी दिपक भट्टले दोस्रो बजारबाट नेपाल रि–इन्स्योरेन्स कम्पनीलगायतका शेयर खरिद गर्न नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सहायक कम्पनीबाट ३७ करोड दुरुपयोग गरी धितोपत्र दलाल नं. ५५ भृकुटी स्टक ब्रोकर कम्पनीमार्फत खरिद गर्दा भुक्तानी गरेको भन्ने समाचारहरू गलत भएको नेपाल लाइफले बताएको छ ।
‘गलत समाचारहरु प्रकाशित भएकोप्रति कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ,’ कम्पनीले विज्ञप्तिमार्फत भनेको छ, ‘यस कम्पनीको माथि उल्लेख गरिएअनुरुप दिपक भट्ट वा धितोपत्र दलाल नं. ५५ सँग यस विषयमा कुनै संलग्नता नभएको र कारोबार समेत नगरेको सम्बनिधत सबैमा जानकारीको लागि अनुरोध गर्दछौं ।’
नेपाल लाइफ इन्स्योरेन्स सधैं प्रचलित कानून, नियामक निकायका मापदण्ड तथा संस्थागत सुशासनका सिद्धान्तहरूको पूर्ण पालना गर्दै आफ्नो व्यवसाय सञ्चालन गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विवादास्पद छविका व्यवसायी दीपक भट्टलाई सम्पत्ति शुद्धीकरणको कसुरमा बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ गरेको छ । यसअघि उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा गृह मन्त्रालयले कालोसूचीमा राखेको थियो ।
