काठमाडौं । नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससँगको समन्वयमा लगानी व्यवस्थापन कार्यक्रम आयोजना गरेको छ ।
कम्पनीले १८ देखि २४ मार्चसम्म विश्वभर चल्ने ‘ग्लोबल मनी विक’को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।
धितोपत्र बजार, लगानी र जोखिम न्यूनीकरण विषयमा कम्पनीले विभिन्न पाँच स्थानमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ‘उज्वल भविष्यका लागि लगानी’ विषयमा सर्वसाधारणमाझ वित्तीय साक्षरता प्रदान गर्ने मुख्य उद्देश्यका साथ चैत ५ गते नेपालगञ्ज, ६ गते कोहलपुर, ७ गते धनगढी, ८ गते महेन्द्रनगर बजार र कञ्चन क्याम्पसमा सो कार्यक्रम आयोजना गरेको हो ।
शेयर बजार, जोखिम र यसको प्रतिफलको प्रभावबारे सर्वसाधारणलाई साक्षर गराउनु कार्यक्रमको मुख्य लक्ष्य रहेको बताइएको छ । विभिन्न स्थानमा गरिएको कार्यक्रममा सहभागीलाई लगानीका विधि, सानै उमेरदेखि लगानी गर्दा भविष्यमा हुने लाभ र लगानीका जोखिमका विषयमा जानकारी प्रदान तथा अन्तरक्रिया कार्यक्रम गरिएकोे थियो । कार्यक्रममा ५०० जना सहभागी भएका थिए ।
नेपाल लाइफ क्यापिटल, व्यक्ति वा कम्पनीहरूको लगानीयोग्य बचतलाई नेपालको पुँजीबजारमार्फत परिचालन गरी उक्त लगानीमा समयसापेक्ष मूल्य सृजना गराउने मुख्य उदेश्यका साथ नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकिङको कार्य अनुमति प्राप्त पब्लिक लिमिटेड कम्पनी हो । कम्पनीले पुँजी बजारका असिमित सम्भावनाहरू तथा यसको बहुआयामिक पक्षहरूको अध्ययन गरी नेपाली लगानीकर्ताहरूलाई सुरक्षित तथा लाभदायक लगानीका अवसरहरू प्रदान गर्न लगानी व्यवस्थापन सेवा, तथा डिम्याट खाता सञ्चालन सेवा प्रदान गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS