काठमाडाैं । रोलर मिल एशोसिएसन अफ इन्डियाले आयोजना गरेको द फ्यूचर अफ मिलिङ, भिजन २०३० एण्ड बियोण्ड सेमिनारमा नेपाल मैदा उद्योग संघले प्रतिनिधिमूलक सहभागिता जनाएको छ।
उक्त कार्यक्रम २०२५ मार्च ३ र ४ मा भारतको गोवामा सम्पन्न भएको थियो। प्रत्येक पाँच वर्षमा आयोजना हुने यो कार्यक्रममा भारतका ६०० भन्दा बढी मैदा मिल कम्पनीहरू, अन्य विदेशी मुलुकका मिलिङ कम्पनीहरू र खाद्य उत्पादन, सुरक्षा, व्यवस्थापन तथा प्रशोधन प्रविधिसँग सम्बन्धित विशेषज्ञहरूको उत्साहजनक सहभागिता रहेको थियो।
नेपाल फ्लोर मिल्स एसोसिएसनका अध्यक्ष कुमुद दुगडको नेतृत्वमा नेपालका १६ प्रतिष्ठित मैदा मिल कम्पनीहरूले तीनदिने कार्यक्रममा भाग लिएका थिए।
सेमिनारमा मैदा मिलको भविष्य, गहुँ उत्पादन, खाद्य सुरक्षा, नयाँ प्रविधि र चुनौतीहरूबारे विस्तृत छलफल र अन्तरक्रिया भएको थियो। विशेषज्ञहरूले स्याटलाइट प्रविधिबाट गहुँलगायत बालीको उत्पादन क्षेत्रफल र अवस्था निरीक्षण गरी भविष्यवाणी गर्ने र वास्तविक उत्पादन वृद्धिमा सहयोग पुर्याउने प्रविधिबारे जानकारी गराएका थिए। साथै, खाद्य भण्डारणका लागि आवश्यक प्रविधि र विधिहरूको पनि प्रदर्शन गरिएको थियो।
कार्यक्रममा नेपाल र भारतका मैदा मिल कम्पनीहरूबीच प्रविधि आदानप्रदान, प्राविधिक जनशक्ति उत्पादनका लागि तालिम र खाद्य सुरक्षामा सहकार्य गर्ने सहमति भएको छ। सहभागी नेपाली प्रतिनिधिहरूले कार्यक्रम ज्ञानवर्धक र उत्साहजनक रहेको बताएका छन्। नेपालमा हाल गहुँको औद्योगिक र घरेलु खपत १२ लाख टन रहेको अनुमान छ, जसमध्ये ४ लाख टन अभाव भारतलगायत अन्य मुलुकबाट आयात गर्नुपर्ने अवस्था छ। विगत चार वर्षदेखि भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाए पनि यस वर्ष नेपालका लागि २ लाख टन गहुँ निर्यात गर्ने निर्णय भएको छ।
यसैबीच, डेलिगेशनले मार्च ५ मा दिल्लीमा नेशनल कोअपरेटिव एक्सपोर्ट लिमिटेडका प्रबन्ध निर्देशक अनुपम कौशिकसँग भेट गरी गहुँ आयात सहज बनाउने विषयमा छलफल गरेको थियो। यो बैठकले आयात प्रक्रियामा देखिएका समस्या समाधान गर्न सहमति जुटाएको छ। कार्यक्रममा अध्यक्ष कुमुद दुगडलाई सम्मान गरिएको थियो, जसलाई नेपाल मैदा उद्योग संघले गर्वको विषय मानेको छ।
अध्यक्ष दुगडले गहुँ उत्पादन वृद्धि, भण्डारण व्यवस्थापन र गुणस्तरीय उत्पादनका लागि सरकार र सरोकारवालासँग सहकार्य गर्न संघ तयार रहेको बताए। साथै, स्याटलाइट प्रविधिबाट गहुँको वास्तविक उत्पादन तथ्यांक संकलन गर्न आग्रह गरेका छन्। भारत सरकारले फ्लोर मिलका प्राविधिकका लागि लखनउमा तालिम केन्द्र सञ्चालन, गहुँ बोर्ड गठन र नेपालका उद्योगीहरूलाई नियमित तालिमको अवसर प्रदान गर्ने घोषणा गरेको छ।
FACEBOOK COMMENTS