काठमाडौं । नेपाल मेडिकल कलेजमा एक ८० वर्षीय बृद्धको मुटुको रक्तनलीको ब्लक सफलतापूर्वक खोलिएको छ ।
कलेजका मुटु रोग विशेषज्ञ डा. सुर्यराज पाठकको नेतृत्वको टीमले ८० वर्षीय काजी शेर्पाको एन्जियोप्लास्टी सफलतापूर्वक गरेको हो ।
बुधबार उच्च रक्तचाप, अत्याधिक मुटु दुखाईबाट गम्भिर बनेका बृद्धलाई उनका परिवारले नेपाल मेडिकल कलेजको इमरजेन्जीमा उपचारका लागि ल्याएका थिए । त्यस वखत उनको अवस्था गम्भिर थियो । तत्काललै डा. सुर्यराज पाठक नेतृत्वको टीमले एन्जियोप्लास्टी (बाई पास सर्जरी) गरी उनको ज्यान बचाएको हो ।
“उहाँमा विगत १० वर्षदेखि उच्च रक्तचाप रहेछ, त्यसमाथि धुम्रपान समेत गर्नुहुने भएकोले लामो समयदेखि मुटु दुख्ने, रक्तचाप बढ्ने समस्याले ग्रसित हुनुहुँदो रहेछ । यहाँ आउने बेला पनि उहाँको स्वास्थ्यवस्था जटिल भइसकेको थियो । उहाँको मुटुको २ वटा रक्तनली बन्द भएको पायौं । त्यसपछि तत्कालै एन्जियोप्लास्टी गर्यौं ।” मुटु रोग विभागका प्रमुख समेत रहेका डा. पाठकले भने ।
मुटु रोगको उपचारका लागि अत्याधुनिक क्याथ ल्याब स्थापना गरेसँगै कलेजमा मुटु रोगको उपचार गराउन आउने बिरामीहरुको संख्या बढ्दो छ । करिब ३ महिनाको दौरानमा कलेजले ५० जना जतिको एन्जियोप्लास्टी गरिसकेको छ । कलेजमा हर्ट अट्याक भएका तथा मुटु सम्बन्धी अन्य रोग लिएर आएका बिरामीको दक्ष तथा अनुभवी मुटु रोग विशेषज्ञबाट उपचार हुँदै आएको छ । हाल यहाँ काठमाडौं उपत्यकासँगै मोफसलबाट समेत मुटु रोगीहरु उपचारार्थ आउने गरेका छन् ।

क्याथल्याब नहुँदा विगतमा मुटु रोगी बिरामीहरुलाई अन्यत्र रिफर गरिन्थ्यो । कतिपय अवस्थामा समयमै अस्पताल नपुग्दा बिरामीहरुको बाटोमै ज्यान जाने सम्मको अवस्था आउँथ्यो । तर, अहिले हर्ट अट्याक मात्र नभएर मुटु सम्बन्धी कुनैपनि समस्या भएका बिरामीले नेपाल मेडिकल कलेजमा सहज उपचार पाउने गरेका छन् । यसबाट काठमाडौंका उत्तरपूर्वी भेगका जनताले बढी लाभ लिई रहेका छन् ।

स्वास्थ्य सेवामा भित्रिएका नविनतम उपचार पद्दति र प्रविधिलाई आत्मसाथ गर्दै सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य लिएको कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले बताउनु भयो । मुटु रोगको सफल उपचारका लागि क्याथ ल्याब सँगै पछिल्लो समय कलेजले प्रख्यात फिलिप्स कम्पनीको १२८ स्लाइसको सिटी स्क्यान तथा १.५ टेस्ला एमआरआई समेत सञ्चालनमा ल्याइसकेकोले उपचारार्थ आउने बिरामीहरुको संख्या बढ्दो रहेको छ ।