काठमाडौं । नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजनामा आजदेखि ‘नेपाल फर्मा एक्स्पो २०२६’ सुरू भएको छ ।
नेपाली औषधि उद्योगको आधुनिक रूपान्तरण र प्राविधिक सामर्थ्य प्रदर्शन गर्ने उद्देश्यका साथ काठमाडौंको भृकुटीमण्डपमा एक्स्पोको १०औँ संस्करण सुरू भएको हो ।
‘फार्मामा नवीनता: भोलिको स्वास्थ्यका लागि’ भन्ने मूल नाराका साथ सुरू गरिएको एक्स्पो स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले उद्घाटन गरिन् । आगामी शनिबारसम्म सञ्चालन हुने एक्स्पोमा २०० भन्दा बढी स्टलहरू रहेको आयोजकले जानकारी दिएको छ ।

आयोजकका अनुसार यसपटक प्रदर्शनीमा विदेशी कम्पनीहरूको बाहुल्यता रहेको छ । कूल स्टलमध्ये ९० प्रतिशतभन्दा बढी सहभागिता विदेशी तथा बहुराष्ट्रिय कम्पनीहरूको छ, जसले विश्व बजारमा आएका नवीनतम कच्चा पदार्थ, प्याकेजिङ सामग्री र अत्याधुनिक मेसिनरीहरू प्रदर्शन गरिरहेका छन् । बाँकी १० प्रतिशत स्टलहरूमा भने स्वदेशी औषधि उद्योगका प्रगति र उत्पादनहरूलाई प्राथमिकताका साथ राखिएको छ ।

यो एक्स्पो केवल प्रदर्शनी मात्र नभई नेपाललाई औषधि उत्पादनमा आत्मनिर्भर बनाउने एउटा बलियो खुड्किलो भएको नेपाल औषधि उत्पादक संघका अध्यक्ष बिप्लव अधिकारीदे जानकारी दिए । ‘हामीले हिजोका दिनमा गरेका अनुसन्धान र आविष्कारहरू आजको औषधि उद्योगको आधार हुन् । आजको हाम्रो नवीन सोच र प्रविधिमा गरिने लगानीले नै भोलिको स्वस्थ नेपालको भविष्य सुनिश्चित गर्नेछ,’ उनले भने ।

FACEBOOK COMMENTS