काठमाडौं । टुँडालदेवी मन्दिर परिसरमा शान्तिसुरक्षासम्बन्धी प्रहरी अनुरोध कार्यक्रम गरिएको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत शुक्रबार कार्यक्रम गरिएको हो ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवी, प्रहरी वृत्त महाराजगञ्ज र मालीगाउँको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।
सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपानेको सभापतित्वमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी प्रमुख अतिथि थिए ।
त्यस अवसरमा पूर्वसचिव एवं पूर्वमहालेखापरीक्षक मधुसुदन ढकाल, नेपाली सेनाका पूर्वउपरथी शिवराम प्रधान, पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) द्वय कमलसिंह बम र निरज शाही, पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) कुलदीप चन्द विशेष अतिथि थिए ।
कार्यक्रममा बोल्दै एसएसपी विश्व अधिकारीले समाजमा शान्तिसुरक्षा, अपराध नियन्त्रण तथा रोकथामका लागि सूचना आदानप्रदान महत्त्वपूर्ण रहेको बताए । अपराध न्यूनीकरणका लागि जिल्ला प्रहरी परिसर काठमाडौं प्रतिबद्ध रहेको पनि उनको भनाइ थियो ।
उनले नागरिक समाज नै सूचना स्रोत भएकाले सत्यतथ्य सूचना प्रहरीलाई उपलब्ध गराइदिन अनुरोध गरे ।
‘अपराध नियन्त्रणमा सूचना आदानप्रदान महत्त्वपूर्ण छ, नागरिक समाज नै सूचना स्रोत भएकाले सत्यतथ्य सूचना प्रहरीलाई उपलब्ध गराइदिन हाम्रो अनुरोध पनि छ,’ उनले भने ।
साथै उनले समुदाय-प्रहरी साझेदारी कार्यक्रमको उद्देश्य अपराध नियन्त्रण गर्नु रहेको उल्लेख गर्दै प्रहरी र समुदायको सहभागितामा मात्र समाजलाई सुरक्षित बनाउन सकिने धारणा राखे ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपानेले आसन्न होली पर्वलाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनले समुदाय र प्रहरीको आपसी समन्वयमा शान्तिसुरक्षालाई प्रवर्द्धन गर्न सकिने बताए ।
पूर्वएआईजी कमलसिंह बमले सामुदायिक सेवाले अपराध नियन्त्रणमा प्रहरीलाई सहयोग पुर्याउँदै आएको बताउँदै जिल्ला प्रहरी परिसर काठमाडौंले कर्मठ र क्षमतावान् नेतृत्व पाएको उल्लेख गरे । परिसर प्रमुख एसएसपी विश्व अधिकारीको कार्यकालमा अपराध नियन्त्रणमा अझ उपलब्धि हासिल हुने विश्वास उनले व्यक्त गरे ।
त्यस्तै पूर्वडीआईजी हेमन्त मल्लले सामुदायिक सेवा केन्द्र टुँडालदेवीको सक्रियताको प्रशंसा गर्दै प्रहरीप्रति समाजमा आउने विभिन्न गुनासाहरू सम्बोधन गर्न प्रारम्भिक अनुसन्धानलाई अझ प्रभावकारी बनाउन जोड दिए ।
वडा सदस्य नवीन मैनालीले स्थानीय तहमा अपराध नियन्त्रण तथा शान्तिसुरक्षाका लागि सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे ।
कार्यक्रममा प्रहरी वृत्त मालीगाउँका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिलजङ्ग शाहले शान्तिसुरक्षा कायम गर्न समुदायको साथ महत्त्वपूर्ण हुने बताए ।
सो अवसरमा सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपानेले जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसपी विश्व अधिकारी, जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्द र प्रहरी वृत्त महाराजगञ्जका डीएसपी निरञ्जन थापालाई दोसल्ला ओढाई स्वागत तथा सम्मान टक्राएका थिए ।
कार्यक्रममा विभिन्न संघसंस्था, स्थानीय क्लब, टोल सुधार समिति, सरकारी तथा निजी विद्यालयका प्रधानाध्यापक तथा प्रिन्सिपल, स्थानीय व्यक्तिहरू गरी करिब १६० जनाको उपस्थिति रहेको थियो ।
काठमाडौं महानगरपालिका वडा नंं. ४ मा विशालनगर, चण्डोल, चुनदेवी, बालुवाटार, पञ्चकन्या, गणेशवस्ती, चप्पल कारखाना, प्रगति टोल, धुम्बाराही, रारामार्गलगायतका क्षेत्र पर्दछन् ।
FACEBOOK COMMENTS