काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा राजसंस्था पुनर्स्थापनाको पक्षमा भएको आन्दोलनमा उचित सुरक्षा दिन नसकेको भन्दै आलोचना खेपेको नेपाल प्रहरी फेरि एकपटक आलोचित भएको छ । कतिपयले सुरक्षा कमजोरीका कारण उक्त आन्दोलनले हिंसात्मक रूप लिएको आरोप लगाइरहँदा दुर्गा प्रसाईं पक्राउको विषयमा प्रहरीले सूचना सम्प्रेषणमा गरेको कमजोरीले अर्को आलोचना खेप्नुपरेको हो ।
राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका कमाण्डर दुर्गा प्रसाईं प्रहरीको सुरक्षा घेरा तोड्दै बलजफ्ती गाडी हुइँकाएर आन्दोलनस्थलबाट निस्किएकै दिनदेखि फरार भएका थिए । बिहीबार राति भारतको असमबाट उनी पक्राउ परे । नेपाली सञ्चार माध्यमहरूमा उनी पक्राउ परेको विषय केहीबेरमै छ्यापछ्याप्ती भइसकेको थियो ।
तर, नेपाल प्रहरीले भने यो विषय पुष्टि गरिरहेको थिएन । अझ प्रहरीले उनी पक्राउ नै नपरेको र खोजीमै रहेको भन्दै सञ्चार माध्यमहरूलाई भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रहसहित राति नै विज्ञप्तिसमेत निकाल्यो । (विज्ञप्ति तल हेर्नहोस्)
उता, त्यहीबीच दुर्गा प्रसाईं आफैंले आफ्नो सुरक्षाका लागि असम प्रहरीसमक्ष आत्मसमर्पण गरेको भन्दै उनको सचिवालयले फेसबुकमार्फत सूचना दियो ।
त्यस्तै, राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले विज्ञप्ति जारी गर्दै प्रसाईंले भारतीय प्रहरीसमक्ष आफ्नो ज्यानको सुरक्षासहित नेपाल प्रवेश गर्न सहयोग गरिदिन अनुरोध गरेपछि नेपालको सीमासम्म ल्याइपुर्याउन सहयोग गरेको बतायो ।
दुर्गा प्रसाईं भागेर भारत पुगेको हुन सक्ने आशङ्का यसअघिदेखि नै हुँदै आएका थिए । तर, उनीसम्बद्ध फेसबुक पेजबाट यसबीच दुईवटा भिडिओ जारी भएका थिए, जसमा प्रसाईंले आफू कतै नभागेको र काठमाडौंमै रहेको, प्रहरीले आफूलाई सुरक्षाको ग्यारेन्टी दिएमा आत्मसमर्पण गर्न तयार रहेको भनेका थिए । यसले आम जनमानसलाई दिग्भ्रमित गरिरहेकै बेला दुर्गा प्रसाईं पक्राउको विषयमा नेपाल प्रहरीले सूचना सम्प्रेषणमा गरेको कमजोरीले थप भ्रम फैलायो । उनी साँच्चै पक्राउ परेका हुन् वा हल्ला मात्र फैलाइएको हो भन्ने द्विविधाको अवस्था बन्यो । अर्कातिर, प्रसाईं पक्राउको समाचार सम्प्रेषण गर्ने पत्रकार र मिडियाले झुटो सूचना फैलाएको भनेर गाली पनि खानुपर्यो ।
नेपाल प्रहरीको विशेष खोजी सूचीमा रहेका प्रसाईं निकट छिमेकी राष्ट्र भारतमा पक्राउ परिरहँदा उनी पक्राउ परेको विषय नेपालको प्रहरी सङ्गठनलाई जानकारी नै छैन अथवा पक्राउ नै परेका छैनन् भन्नु कदाचित सुहाउँदैन । के नेपाल प्रहरीसँग समन्वयबिना भारतीय प्रहरीले प्रसाईंलाई पक्राउ गर्न मिल्छ ? प्रश्न उठ्छ । यदि, प्रसाईं आफैंले भारतीय प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् भने पनि नेपाल प्रहरीलाई यो विषय जानकारी हुनुपर्ने हो । अथवा, तत्काल थिएन भने पनि समन्वय गरेर यसको आधिकारिकता पुष्टि गर्नुपर्ने थियो ।
यदि, प्रहरीले भनेजस्तै जानकारी नभएकै हो भने त झनै यसले फ्रन्टलाइनमा रहेर सुरक्षा जिम्मेवारी वहन गरिरहेको प्रहरी सङ्गठनको अन्तर्राष्ट्रिय प्रहरीसँगको समन्वय कति कमजोर रहेछ भन्ने पनि देखाउँछ । यस्तो अवस्थाले प्रहरीमाथि नै प्रश्न उठ्ने र आम जनमानसमा भ्रम सिर्जना हुने हुन्छ । यो घटनामा पनि प्रसाईंलाई झापा नल्याइँदासम्म त्यस्तै भयो । प्रसाईंलाई काँकटभिट्टा ल्याइएपुर्याएपछि मात्रै नेपाल प्रहरीले उनी पक्राउ परेको आधिकारिक पुष्टि गर्यो । (प्रहरीले प्रसाई पक्राउबारे जारी गरेको विज्ञप्ति तल हेर्नुहोस्)
आखिर यस्तो अवस्था किन बन्यो ? नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्य भारतीय प्रहरीले पक्राउ गर्दैमा नेपाल प्रहरीलाई जानकारी नुहने भन्दै आफूहरूले शुक्रबार मात्र झापाको भद्रपुरबाट प्रसाईंलाई पक्राउ गरेको बताए । सञ्चार माध्यमहरूमा समाचार आउँदैमा त्यसैलाई आधार मानेर पक्राउ परे/नपरेको विषय प्रहरीले भन्न नमिल्ने र पक्राउ गर्नका लागि निश्चित कानुनी प्रक्रिया पूरा गर्नुपर्ने उनको भनाइ छ ।
‘हामीले पक्राउ गरेकै थिएनौँ । भारतीय प्रहरीले पक्राउ गरेको त हामीलाई जानकारी हुने कुरा भएन नि !,’ डीआईजी आचार्यले कर्पोरेट खबरसँगको टेलिफोन कुराकानीमा भने, ‘मिडियामा आएको सूचनालाई नै आधार मानेर हामीले पक्राउ परेको/नपरेको भन्न मिल्दैन । त्यसका कानुनी प्रक्रिया छन् ।’
FACEBOOK COMMENTS