काठमाडौं । नेपाल प्रहरीले ८५ वटा गाडी किन्नका लागि टेण्डर आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गर्दै गाडी किन्नका लागि टेण्डर आह्वान गरेको हो ।
सूचनाअनुसार प्रहरीले पेट्रोलबाट चल्ने ७५ वटा र १० वटा विद्युतीय पिकअफ गाडी खरिद गर्न लागेको हो । टेण्डरदाताले ९ कात्तिक (२६ अक्टोबर) मा हुने प्रिबिड मिटिङमा सहभागिता जनाउन सक्ने छन् ।
विद्युतीय टेण्डर कात्तिक १४ (३१ अक्टोबर) भित्र नेपाल प्रहरी प्रधान कार्यालयमा पेस गर्नुपर्ने जनाइएको छ । प्रहरीका अनुसार टेण्डरहरू १४ कात्तिक (३१ अक्टोबर) मा अपराह्न २ बजे खोलिने छन् ।
टेण्डरहरू बैंक ग्यारेन्टीसहित पेस गर्नुपर्ने र उक्त ग्यारेन्टी टेण्डर वैधता अवधि भन्दा ३० दिन बढीको हुनुपर्ने उल्लेख गरिएको छ ।
जेनजी आन्दोलन क्रममा भदौ २४ गते प्रदर्शनकारीहरूले विभिन्न ठाउँमा प्रहरीको गाडी जलाइदिएका थिए । त्यसपछि गठन भएको अन्तरिम सरकारले फागुन २१ गते निर्वाचन गर्ने तय भइसकेको छ । निर्वाचन आयोगले प्रहरीलाई गाडी किनिदिनका लागि आग्रह समेत गरेको थियो ।
FACEBOOK COMMENTS