काठमाडौं । कतारका राजा शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई दिने भ्रमणका लागि मंगलबार काठमाडौं आएका थानी आज दिउँसो स्वदेश फर्किएका हुन् । उनी करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किएका हुन् ।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरे । सो अवसरमा नेपाली सेनाको टोलीले सलामी अर्पण गरेको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा मङ्गलवार नेपाल भ्रमणमा आएका थानीलाई बुधवार राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन विमानस्थल पुगेर बिदाइ गरेका हुन् । उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपप्रधानमन्त्री, मन्त्रीलगायत उच्चपदस्थ अधिकारी पनि थानीको बिदाइ गर्न विमानस्थल पुगेर थानीको बिदाइमा सहभागी भए । नेपालमा रहँदा थानीले राष्ट्रपति पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छुट्टा छुट्टै भेटवार्ता गरेका थिए ।
थानीको दुई दिने नेपाल भ्रमणका क्रममा नेपाल र कतारबिच ८ बुँदे समझदारी र सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपाल र कतारबिच सहकार्य गर्ने सम्बन्धमा १ सम्झौता र ७ समझदारी भएकोमा सरकारी तहमा ६ वटा र निजी क्षेत्रसँग दुई वटा समझदारी भएको हो ।
नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो । नेपालले सन् २००० जुलाई ११ मा दोहामा राजदूतावास स्थापना गरेको थियो भने कतारले काठमाडौंमा सन् २०११ अगष्टमा राजदुतावास स्थापना गरेको थियो ।
FACEBOOK COMMENTS