काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति लघुवित्तलाई ऋणपत्रमार्फत स्रोत संकलन गरेर परिचालन गर्ने व्यवस्था गरेको छ ।
लघुवित्तकर्मीले ऋणपत्र जारी गरेर स्रोत संकलन गर्न सहज नभएको बताए । राष्ट्र बैंकले ६ साउन शुक्रबार ल्याएको मौद्रिक नीतिमार्फत लघुवित्तलाई पूँजीकोष बराबरको ऋणपत्र जारी गरेर त्यसलाई स्रोतको रुपमा परिचालन गर्नसक्ने व्यवस्था गरेको हो । लघुवित्तमा देखिएको स्रोतको समस्या समाधान गर्न केही प्रतिशत भएपनि आफ्नो स्रोत संकलन गर्न सक्छन् भनेर उक्त व्यवस्था गरेको राष्ट्र बैंकले जनाएको छ ।
लघुवित्तकर्मी भने लघुवित्तले ऋणपत्र जारी गरेर बजारबाट स्रोत संकलन गर्न सहज नभएको बताउँछन् । नेपाल लघुवित्त बैंकर्स संघको निवर्तमान अध्यक्ष तथा विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत बसन्त लम्साल लागतको हिसाबले पनि लघुवित्तले ऋणपत्र जारी गरेर स्रोतको रुपमा परिचालन गर्न सहज नभएको बताउँछन् ।
‘वाणिज्य बैंकले नै १०/११ प्रतिशत ऋणपत्र जारी गरीरहेको छ, लघुवित्तले त्यसभन्दा बढी ब्याजदरमा जारी गर्नुपर्छ,’ उनले भने, ‘कर्जा लगानीमा १५ प्रतिशतको ‘क्याप’ हुँदासम्म १२/१३ प्रतिशतमा ऋणपत्र जारी गर्नुको अर्थ हुँदैन । ऋणपत्र जारी गर्न लागत नै उच्च लाग्छ, त्यसैले अहिलेको ब्याजदरमा लघुवित्तले ऋणपत्र जारी गरेर स्रोत परिचालन गर्न सहज छैन ।’
स्रोत परिचालनको नयाँ औजारको रुपमा राष्ट्र बैंकले बाटो खोल्नु सकारात्मक भएको उनको टिप्पणी छ ।
‘लघुवित्तलाई सर्वसाधाणबाट निक्षेप संकलन गर्न दिनुपर्छ भनेर माग गरेको हो । त्यो सम्बोधन भएको भए राम्रो हुने थियो,’ उनले भने, ‘अहिलेपनि बैंकिङ पहुँच नरहेका गाउँ-गाउँमा सानोसानो पैसा बैंकिङ च्यानल बाहिर छ, त्यसलाई लघुवित्तले बैंकिङ च्यानलमा ल्याउन सक्छन् भन्ने हाम्रो विश्वास थियो हुन सम्बोधन भएन ।’
निक्षेपको विकल्पमा राष्ट्र बैंकले ऋणपत्र जारी गर्न दिने व्यवस्था गर्नु सकारात्मक रहेपनि त्यसले लघुवित्तको लागि सकारात्मक भुमीका खेल्नेमा भने उनले आंशंका व्यक्त गरे ।
मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंकहरुले लघुवित्तलाई विपन्न वर्ग कर्जा अन्तर्गत थोक कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशत बिन्दुसम्ममात्र प्रिमियम थप गर्नसक्ने व्यवस्था सकारातमक रहेको उनले बताए ।
तर, लघुवित्तको समस्या समाधानको लागि कोषको लागतको आधारमा आधार ब्याजदर (बेस रेट) निर्धारण गरेर त्यसको आधारमा लगानी गर्न पाउनुपर्ने र अहिलेको १५ प्रतिशतको ‘क्याप’ हटाउनुपर्ने उनले बताए । राष्ट्र बैंक्ले लघुवित्तलाई कर्जा लगानी गर्दा अधिकतम १५ प्रतिशत भन्दा बढी बयाजदर कायम गर्न नपाई वयवस्था गरेको छ । जुन व्यवस्था हटाउनुपर्ने उनले बताए ।
‘बेस रेट निर्धारण गरेर त्यसमा प्रिमियम तोक्न सकिन्छ, अहिले नै लघुविको कोषको लागत १२/१३ प्रतिशत पुगेको अवस्थामा १५ प्रतिशतको क्याप नहटेसम्म समस्या समाधान हुँदैन,’ उनले भने ।
लघुवित्त बैंकर्स संघको अध्यक्ष प्रकाशराज शर्मा ऋणपत्रमार्फत राष्ट्र बैंकले लघुवित्तप्रति सर्वसाधराणको विश्वसनियता परीक्षण गर्न खोजेको र अब निक्षेप संकलन गर्ने बाटो खोल्ने संकेत गरेको बताउँछन् ।
‘अर्थतन्त्र र समग्र वित्तीय प्रणालीमा नै समस्या रहेको अवस्थामा लघुवित्तको समस्या जुन रुपमा सम्बोधन गर्ने प्रयास गरेको छ, त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ,’ अध्यक्ष शर्मा भन्छन्, ‘हाम्रो जोड ऋणपत्र भन्दा पनि निश्चित सीमा तोकर निक्षेप नै संकलन गर्न पाउनुपर्छ भन्ने हो । माग स्रोत परिचालनको समस्या समाधान गर्नुपर्छ भन्ने अपेक्षालाई ऋणपत्रमार्फत सम्बोधन गर्न खोजेको उनले बताए ।
लघुवित्त संस्थाको पूँजीकोष करिब ५० अर्ब पुगिसकेको र त्यति बराबरको ऋणपत्र जारी गरेर सर्वसाधारणबाट स्रोत संकलन गर्न दिने राष्ट्र बैंकको नीतिले लघुवित्तका विश्वसनीयता पनि मापन हुने उनको तर्क छ । तर, ऋणपत्र जारी गर्दा लागत उच्च हुने, निश्चित अवधिपछि पूँजीकरण गर्नुपर्ने र त्यसको रिजर्भ गर्दै जानुपर्ने भएकोले लघुवित्तलाई ऋणपत्र जारी गर्न सहज भने नरहेको उनले बताए ।
राष्ट्र बैंकले कोभिड अगाडि नै लघुवित्त संस्थाले विदेशबाट ऋण ल्याउन सक्ने व्यवस्था गरेको भएपनि आरएमडीसी, निर्धन लगायतको केही संस्था बाहेक अरुले ऋण ल्याउन सकेनन् । ऋणपत्रबाट स्रोत परिचालन गर्ने व्यवस्था पनि त्यस्तै हुने हो कि भन्ने आशंका लघुवित्तकर्मीको छ ।
यता राष्ट्र बैंकका अधिकारीहरु भने ऋणपत्र निष्कासन गर्दा लघुवित्तको स्रोत परिचालन मात्रै नभएर रेटिङ समेत हुने बताउँछन् । ‘ऋणपत्र सबै लघुवित्तले निष्कासन गर्न सक्छन्, तर सबैले ऋणपत्रबाट स्रोत जुटाउन सक्छन् नै भन्ने हुँदैन,’ राष्ट्र बैंकको प्रवक्ता डा. गुणाकर भट्ट भन्छन्, ‘बजारले कसरी रेस्पोन्स गर्छ, भन्ने कुरामा भर पर्छ, ऋणपत्र निष्कासन गर्दैमा सबै बिक्री हुन्छ भन्ने हुँदैन ।’
ऋणपत्र निष्कासन प्रक्रिया लागतको हिसाबले पनि महँगो भएकोले पनि सबैले निष्कासन गर्छन् नै भन्ने नरहेको उनले बताए । राष्ट्र बैंकले बाटो खोल्नु नै सकारात्मक पक्ष भएको बताए । पहिलो राष्ट्र बैंकले लघुवित्तलाई स्रोत संकलन गर्न दिएको थिएन भने अब सक्छौं भने यो औजार प्रयोग गर भनेको उनले बताए ।
‘लघुवित्तले पनि बजारबाट जोखिम उठाओस् भन्ने र त्यसको बहन गर्ने सक्नुपर्छ भन्ने उदेश्यले यो नीति लिएको हो,’ उनले भने, ‘स्रोत संकलनको लागि पनि यसले केही सहजता ल्याउँछ, अर्को भनेको ऋणपत्रले कम्पनीलाई बजारले नै रेटिङ गर्छ ।’
पहिलो उद्देश्य स्रोत परिचालन नै हो र दोस्रोे सर्वसाधारणबाट कम्पनीको रेटिङ होस् भने रहेको उनले बताए ।
FACEBOOK COMMENTS