काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशत बनाएको स्पष्ट पारेको छ ।
राष्ट्र बैंकले आइतबार घोषणा गरेको मौद्रिक नीतिमा सेयर बजार, सवारी साधन (हायस पर्चेज) र घरजग्गामा दिने कर्जामा जोखिमभार पुनरावलोकन गर्ने घोषणा गरेको थियो ।
आइतवार राष्ट्र बैंकले गरेको पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले ५० लाख रुपैयाँसम्मको मार्जिन प्रकृतिको सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशत बनाए । यसअघि २५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा जोखिम भार १०० प्रतिशत र त्यसभन्दा माथिको कर्जामा १५० प्रतिशत थियो ।
सरकारबाट लाइसेन्स लिएर आवासीय घर बनाउने रियल इस्टेटमा जाने कर्जामा पनि जोखिम भार १५० बाट १०० मा झारेको उनले बताए ।
अन्य रियल इस्टेटमा जाने कर्जाको जोखिमभार भने १५० प्रतिशत नै यथावत रहेको उनले बताए ।
यस्तै हायर पर्चेजमा २५ लाख सम्मको ऋणको जोखिम भार १५० बाट १०० रहने जानकारी गभर्नरले दिए ।
बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाह गर्दा निश्चित रकम पुँजी छुट्याउनुपर्छ, जसलाई पुँजी पर्याप्तता अनुपात भनिन्छ । हाल बैंक तथा वित्तीय संस्थाले पुँजी पर्याप्तता अनुपात ११ प्रतिशत छ । यसको अर्थ १ करोड ऋण प्रवाह गर्न बैंकले ११ लाख रुपैयाँ पुँजी अनिवार्य राख्नुपर्ने हुन्छ । तर, १ सय ५० प्रतिशत जोखिम भार राख्नुपर्ने क्षेत्रमा कर्जा प्रवाह गर्दा चाहिँ १ करोड ऋण दिँदा त्यसको जोखिम १ सय ५० प्रतिशत अर्थात् १ करोड ५० लाख मानी त्यसको ११ प्रतिशतले हुन आउँने पुँजी बैंकले राख्नुपर्छ ।
त्यसरी जोखिम भार कम बनाउँदा बैंकले कम पुँजी हुँदा पनि धेरै ऋण प्रवाह गर्नसक्छन् । यसले कर्जा प्रवाहलाई प्रोत्साहित गर्छ । यी क्षेत्रको जोखिमभार कम गरिदिनुपर्यो भनेर बैंकहरुले माग गरिरहेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले बताए ।
FACEBOOK COMMENTS