काठमाडौं । नेपाल एसबीआई मर्चेण्ट बैंकिङको प्रबन्ध सञ्चालक एवम् प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोषकुमार भण्डारी नियुक्त भएका छन् ।
संस्था सञ्चालक समितिको ७१औँ बैठकले भण्डारीलाई आज शुक्रबार (असार १३) देखि लागू हुने गरी सो पदमा नियुक्त गरेको हो ।
यसअघि भण्डारीले नेपाल एसबीआई बैंकको सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख, वित्त तथा योजना विभाग प्रमुख, लेखा परीक्षण विभाग अधिकृतको जिम्मेवारी सम्हालेका थिए । बैंकिङ तथा वित्तीय क्षेत्रमा १६ वर्षभन्दा बढीको कार्य–अनुभव सँगोका उनी स्रोत तथा साधनको उच्चतम परिचालन तथा व्यवस्थापन गर्न सक्ने एक कुशल नेतृत्व मानिन्छन् ।
नेपाल एसबीआई बैंकको पूर्ण स्वामित्व रहेको सहायक कम्पनीको रूपमा स्थापित नेपाल एसबीआई मर्चेण्ट बैंकिङको चुक्ता पुँजी २० करोड रुपैयाँ छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई निष्कासन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूतिकर्ता, शेयर रजिष्ट्रार, लगानी व्यवस्थापक र संस्थागत परामर्शदाता लगायतका मर्चेण्ट बैंकिङ सेवाहरू प्रदान गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS