काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले राष्ट्रको सञ्चार सेवा विस्तार र विकासमा उल्लेखनीय योगदान गरेको बताएका छन्।
मंगलबार टेलिकमको २१ औं वार्षिकोत्सव समरोहमा शुभकामना व्यक्त गर्दै मन्त्री गुरूङले नेपाल टेलिकमको नारा मात्रै ‘राष्ट्रको सञ्चार’ नभई यसले सोहीअनुरूप कर्तव्य निर्वाह गर्दै आएको उल्लेख गरे। विकट भूगोलका बाबजुद सेवा विस्तार गर्दै जनतालाई सहज सञ्चार सेवा उपलब्ध गराउनु कम्पनीका लागि गर्वको विषय भएको उनले बताए। सञ्चार सेवाले मुलुकको शिक्षा, स्वास्थ्य, अर्थतन्त्रलगायत क्षेत्रमा सकारात्मक प्रभाव पारेको भन्दै उनले नेपाल टेलिकमलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
समयअनुसार सञ्चार प्रविधि विकास गर्दै लैजानु आवश्यक रहेको बताउँदै उनले डिजिटल युगलाई आत्मसात् गर्दै नेपाललाई आधुनिक प्रविधिमैत्री बनाउन टेलिकमले कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन लगायतका क्षेत्रमा डिजिटल सेवा विस्तार गर्नुपर्ने बताए। टेलिकमले सेवा विस्तारसँगै डिजिटल डिभाइड न्यूनीकरण, डिजिटल साक्षरता प्रवद्र्धन, विद्युतीय सरकारको अवधारणा कार्यान्वयन र ज्ञानमा आधारित समाज निर्माणमा समेत योगदान पुर्याइरहेको बताए।
नेपाल टेलिकमले फोरजी सेवा विस्तारलाई तीव्रता दिँदै छिट्टै नै देशभर उच्च गतिको इन्टरनेट सेवा पुर्याउने लक्ष्य राखेको छ। मन्त्री गुरूङले टेलिकमलाई ब्रोडब्यान्ड इन्टरनेट विस्तार गर्दै स्थानीय तह तथा वडास्तरसम्म इन्टरनेट सेवा पुर्याउन प्राथमिकता दिन आग्रह गरे। उनले ग्राहक सुविधालाई ध्यानमा राख्दै २४ सै घन्टा मर्मत सम्भारको व्यवस्था गर्नुपर्ने बताए।
विश्व अहिले सिक्स जी प्रविधिको तयारीमा रहे पनि नेपालमा फाइभ जी सेवा छिट्टै सुरु गर्नु अपरिहार्य भएको उनले बताए। डिजिटल रूपान्तरणका लागि डेटा सर्भिसमा निर्भर रहनुपर्ने आवश्यकता औंल्याउँदै टेलिकमले खुला बजारको प्रतिस्पर्धात्मक अवस्थालाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने धारणा राखे।
नेपाल टेलिकमको २१ औं वार्षिकोत्सवको अवसरमा प्रकाशित स्मारिकामा दूरसञ्चार सेवा, प्रविधि तथा व्यवस्थापनसम्बन्धी विभिन्न लेख समावेश गरिने जानकारी दिइएको छ। मन्त्री गुरूङले कम्पनीका ग्राहक, सेयरधनी, सञ्चालक समिति, व्यवस्थापक तथा कर्मचारीहरूलाई धन्यवाद दिँदै टेलिकमको निरन्तर प्रगतिको शुभकामना व्यक्त गरे।
FACEBOOK COMMENTS