काठमाडौं । नेपालको पर्यटन क्षेत्रका प्रमुख संस्था तथा प्रतिनिधिहरूले पर्यटन क्षेत्रको समग्र विकास, संस्थागत सुधार र साझा समस्याको समाधानका लागि ‘नेपाल पर्यटन महासंघ’ गठन गर्ने प्रस्ताव अघि बढाउने सहमति गरेका छन् ।
नेपाल ट्रेकिङ एजेन्सिज एसोसिएसनका अध्यक्ष सागर पाण्डेको अध्यक्षतामा आइतबार बिहान काठमाडौंको पकनाजोलस्थित होटल मुनलाइटमा आयोजित पर्यटन क्षेत्रका प्रमुख संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको विशेष बैठकमा नेपालको समग्र पर्यटन विकास, संस्थागत सुधार, समसामयिक चुनौती तथा निजी क्षेत्रका साझा विषयमा विस्तृत छलफल भएको हो ।
बैठकमा होटल व्यवसायी महासंघ, नेपाल ट्रेकिङ एजेन्सिज एसोसिएसन, नेपाल पर्यटक यातायात व्यवसायी संघ, नेपाल पर्वतारोहण संघ, नेपाल अभियान सञ्चालक संघ, नेपाल जलयात्रा व्यवसायी संघ, नेपाल पर्यटन बोर्ड, नेपाल पर्यटन तथा यात्रा व्यवसायी संस्था, नेपाल हवाई सेवा सञ्चालक संघलगायत पर्यटन क्षेत्रका विभिन्न संस्थाका प्रतिनिधिहरू सहभागी थिए ।
निजी वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघ नेपालका अध्यक्ष प्रतापजंग पाण्डेले बैठकमा पर्यटन क्षेत्रका प्रमुख संस्थाबीच साझा धारणा निर्माण गरी सरकारसँग प्रभावकारी रूपमा संवाद गर्ने विषयमा छलफल भएको जानकारी दिए ।
उनका अनुसार पर्यटन क्षेत्रका विभिन्न संस्था आ–आफ्ना क्षेत्रमा सक्रिय रहे पनि राष्ट्रिय पर्यटनका साझा विषयमा एउटै आवाज आवश्यक रहेको छ ।

“पर्यटन क्षेत्रका संस्था फरक–फरक भए पनि राष्ट्रिय हितका विषयमा हाम्रो आवाज साझा हुनुपर्छ । अब समस्या पहिचान गरेर समाधानका लागि सरकारसँग संयुक्त रूपमा पहल गर्ने वातावरण बनाउनुपर्छ,” पाण्डेले भने ।

बैठकले विद्यमान संघ–संस्थाको भूमिका विस्थापित नगरी पर्यटन क्षेत्रका साझा राष्ट्रिय विषयमा एकीकृत आवाज, समन्वय र सहकार्यका लागि ‘नेपाल पर्यटन महासंघ’ गठन गर्ने प्रस्ताव अघि बढाउने निर्णय गरेको छ ।

पर्यटन क्षेत्रका साझा समस्या पहिचान गरी सरकार तथा सम्बन्धित निकायसँग संस्थागत रूपमा संवाद गर्ने र समाधानका लागि संयुक्त पहल गर्ने आवश्यकता बैठकले औंल्याएको छ ।
विपद्बाट प्रभावित पर्यटनकर्मीलाई दीर्घकालीन सहयोग
बैठकले गत भदौ १० गते आएको विनाशकारी बाढी तथा विपद्का कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।
विपद्का कारण अझै बेपत्ता रहेका व्यक्तिको खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह गर्दै मृतक तथा बेपत्ता पर्यटनकर्मी र उनीहरूका परिवारलाई उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ ।
मृतक तथा बेपत्ता पर्यटनकर्मीका आश्रित परिवार र बालबालिकाको शिक्षा–दीक्षाका लागि दीर्घकालीन सहयोग आवश्यक रहेको भन्दै नेपाल पर्यटन बोर्ड, ट्रेकिङ क्षेत्रका संस्थाको उपलब्ध कोष तथा अन्य संस्थागत माध्यमबाट सहयोग जुटाउन निजी क्षेत्रले पहल गर्ने प्रतिबद्धता जनाएको छ ।
त्यस्तै, भदौ १० गतेको विनाशकारी विपद्का पीडितको स्मृतिमा अन्तर्राष्ट्रियस्तरको स्मारक उद्यान निर्माण गर्न नेपाल सरकारलाई आग्रह गर्ने निर्णयसमेत गरिएको छ । भविष्यमा यस्ता विपद्का समयमा पर्यटनकर्मीको खोज, उद्धार, राहत, पुन:स्थापना तथा परिवार सहयोगका लागि दीर्घकालीन पर्यटन क्षेत्र संकट व्यवस्थापन तथा उद्धार संयन्त्र आवश्यक रहेको बैठकको निष्कर्ष छ ।
नयाँ पर्यटन ऐनमा निजी क्षेत्रको सुझाव समेट्न माग
नेपाल सरकारले नयाँ पर्यटन ऐन ल्याउने तयारी गरिरहेको सन्दर्भमा बैठकले नेपालको भौगोलिक, प्राकृतिक, सांस्कृतिक तथा पर्यटन व्यवसायको वास्तविक अवस्था र अन्तर्राष्ट्रिय अभ्यासलाई ध्यानमा राखेर ऐन निर्माण गर्नुपर्नेमा जोड दिएको छ ।
नयाँ ऐन व्यावहारिक, समावेशी, लगानीमैत्री, सुरक्षित तथा दिगो पर्यटन विकास सुनिश्चित गर्ने खालको हुनुपर्ने बैठकको निष्कर्ष छ । यसका लागि पर्यटन क्षेत्रसँग सम्बन्धित संघ–संस्था, व्यवसायी तथा सरोकारवालाबाट राय–सुझाव संकलन गरी सरकारसँग आवश्यक सहकार्य गर्ने निर्णय गरिएको छ ।
पर्यटन बोर्डको पुनर्संरचना र निजी क्षेत्रको प्रतिनिधित्व माग
बैठकले नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा पर्यटन क्षेत्रका प्रमुख निजी संस्थाहरूको संस्थागत प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ ।
पर्यटन क्षेत्रका समस्या, आवश्यकता र सम्भावनालाई प्रभावकारी रूपमा सम्बोधन गर्न निजी क्षेत्रको अर्थपूर्ण सहभागिता आवश्यक रहेको भन्दै बोर्डको वर्तमान संरचना तथा कार्यशैलीमा सुधार गर्नुपर्नेमा जोड दिइएको छ ।
बैठकले बोर्डलाई थप प्रभावकारी, व्यावसायिक, जवाफदेही र परिणाममुखी संस्थाका रूपमा विकास गर्न व्यापक पुनर्संरचना आवश्यक रहेको निष्कर्ष निकालेको छ।
साथै, बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा राजनीतिक पहुँचका आधारमा नभई पर्यटन क्षेत्रको ज्ञान, अनुभव, नेतृत्व क्षमता, व्यावसायिक दक्षता, इमानदारी र स्पष्ट कार्ययोजनाका आधारमा योग्य व्यक्ति चयन गर्न सरकारसँग आग्रह गरिएको छ ।
पाण्डेका अनुसार पर्यटन प्रवद्र्धनका लागि संस्था बलियो मात्र भएर पुग्दैन, निर्णय प्रक्रियामा निजी क्षेत्रको विशेषज्ञता र व्यावसायिक अनुभव पनि समेटिन आवश्यक छ ।
“पर्यटन बोर्डको नेतृत्व र संरचना परिणाम दिने किसिमको हुनुपर्छ । राजनीतिक पहुँचभन्दा पर्यटन क्षेत्रको ज्ञान, अनुभव, क्षमता र स्पष्ट कार्ययोजना भएका व्यक्तिलाई जिम्मेवारी दिन सकिए मात्र बोर्डले निजी क्षेत्र र सरकारबीच प्रभावकारी समन्वय गर्न सक्छ,” पाण्डेले बताए ।
नेपाल वायुसेवाको सुधार र सार्वजनिक–निजी साझेदारीमा जोड
बैठकले नेपालको पर्यटन विकासका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवाको सुदृढीकरण अत्यन्त महत्वपूर्ण रहेको निष्कर्ष निकालेको छ ।
नेपाल वायुसेवालाई व्यावसायिक, प्रतिस्पर्धी र दिगो संस्थाका रूपमा विकास गर्न सक्षम नेतृत्व, व्यावसायिक व्यवस्थापन, स्पष्ट व्यावसायिक योजना, उडान मार्ग तथा बजार रणनीति र जहाज व्यवस्थापनमा सुधार आवश्यक रहेको बैठकले औंल्याएको छ ।
आवश्यकता अनुसार सार्वजनिक–निजी साझेदारीको ढाँचामा लैजाने सम्भावनाबारे गम्भीर अध्ययन गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरिएको छ ।
नेपाल वायुसेवा बलियो नभएसम्म क्षेत्रीय तथा अन्तर्राष्ट्रिय उडानमार्फत नेपालको पर्यटनले अन्तर्राष्ट्रिय बजारमा अपेक्षित प्रतिस्पर्धा गर्न कठिन हुने भएकाले यसको सुधारलाई साझा राष्ट्रिय विषयका रूपमा अघि बढाउनुपर्नेमा जोड दिइएको छ ।
पर्यटन नीतिमा निजी क्षेत्रसँग निरन्तर संवाद
बैठकले सरकारले आगामी दिनमा अघि बढाउने पर्यटन नीति, कार्यक्रम तथा संस्थागत सुधारमा निजी क्षेत्रसँग निरन्तर, अर्थपूर्ण र परिणाममुखी संवाद गर्नुपर्नेमा जोड दिएको छ ।
होटल, यात्रा तथा भ्रमण, पदयात्रा, पर्वतारोहण, जलयात्रा तथा नदी पर्यटन, अभियान सञ्चालन, हवाई सेवा, पर्यटन यातायात, सम्मेलन तथा प्रदर्शनी पर्यटन, स्वास्थ्य तथा मनोरञ्जन पर्यटनलगायत सबै उपक्षेत्रका साझा समस्या र सम्भावनालाई एउटै राष्ट्रिय पर्यटन विषयका रूपमा अघि बढाउनुपर्ने धारणा बैठकमा व्यक्त भएको थियो ।
बैठकले प्रस्तावित नेपाल पर्यटन महासंघ, पर्यटन बोर्डको पुनर्संरचना, नेपाल वायुसेवाको सुधार, नयाँ पर्यटन ऐन, विपद्बाट प्रभावित पर्यटनकर्मीको राहत तथा दीर्घकालीन संरक्षण र समग्र पर्यटन क्षेत्रको संस्थागत सुदृढीकरणका विषयमा सम्बन्धित निकायसँग संवाद, सहकार्य र पहललाई निरन्तरता दिने निर्णय गरेको छ ।