काठमाडौं । नेपालका लागि भियतनामी राजदूत न्गुयेन थान हाईले नेपाल र भियतनामबीच सिधा हवाई उडानको सम्भावना रहेको बताएका छन् । हवाई उडानका लागि आफूले पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।
बुधबार नेपाल भियतनाम चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा उनले दुई मुलुकबीच व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहकार्यको उच्च सम्भावना रहे पनि कनेक्टिभिटीको समस्या रहेको बताए ।
राजदूत न्गुयेन थान हाईले नेपालको काठमाडौं र लुम्बिनीमा सिधा उडानको सम्भावना रहेको उल्लेख गर्दै उडानसँगै पर्यटन लगायत अन्य क्षेत्रमा सहकार्य विस्तार हुने बताए ।
यसअघि भियतनामका लागि अवैतनिक वाणिज्यदूत (कन्सुलर) राजेशकाजी श्रेष्ठले नेपालको पर्यटन प्रवद्र्धनका लागि लुम्बिनी–भियतनाम सिधा उडानको लागि पहल गर्न आग्रह गरेका थिए । श्रेष्ठले नेपाली कफी र हस्तकलाको भियतनाम राम्रो बजार बन्न सक्ने भएकाले व्यापारमा सहजीकरणका लागि समेत राजदूत न्गुयेन थान हाईसँग आग्रह गरे । दुबै देशबीच व्यापार, लगानी, कृषि, पर्यटन, सांस्कृतिक सम्बन्ध लगायत क्षेत्रमा सहयोग आदान प्रदानका लागि कन्सुलर श्रेष्ठले आग्रह गरेका थिए ।
कार्यक्रममा नेपाल–भियतनाम चेम्बर अफ कमर्शका अध्यक्ष दीपक मल्होत्राले भियतनाममा रहेका बुद्धमार्गीहरुलाई लक्षित गर्दै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा उडानका लागि पहल गरिदिन राजदूतसमक्ष आग्रह गरेका थिए । उनले नेपाल र भियतनामका जनता साँस्कृतिक रुपमा नजिक रहेको उल्लेख गर्दै कनेक्टिभिटी बढाएर सम्बन्ध बलियो बनाउनुपर्ने बताए ।
FACEBOOK COMMENTS