काठमाडौं । ‘रणनीतिक लगानीमार्फत् दिगो विकास’ नाराका साथ काठमाडौंमा पाँचौं संस्करणको ‘नेपाल पूर्वाधार सम्मेलन’ सुरू भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको आयोजनामा बिहीबारदेखि सुरू भएको सम्मेलन शुक्रबारसम्म चल्नेछ ।
पूर्वाधार विकासमा धेरै लगानी आवश्यक रहेको तर स्रोत अभाव भइरहेको अवस्थामा पूर्वाधार क्षेत्रमा लगानी जुटाउन सम्मेलन आयोजना भएको हो ।
पूर्वाधार विकासका सन्दर्भमा अन्तर्राष्ट्रिय अभ्यास र नेपालमा त्यसको प्रयोगको सम्भावनाबारे सम्मेलनमा गहन छलफल भइरहेको छ ।
सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञ, लगानीकर्ता, तीनै तहका सरकार र निजी क्षेत्रका प्रतिनिधिको सहभागिता छ ।
सम्मेलनको पहिलो दिन वक्ताहरूले पूर्वाधार विकासका लागि निजी क्षेत्रको लगानी वृद्धिमा जोड दिएका छन् । सम्मेलनको पहिलो दिन विभिन्न चार सत्रमा भएको छलफलमा वक्ताहरूले नेपालमा पूर्वाधार विकासका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको र यस क्षेत्रमा उसको लगानी बढाएर जानुपर्नेमा जोड दिएका हुन् ।
यस्तै सहभागीले दक्षिण एसिया क्षेत्रमा अन्तरदेशीय पूर्वाधार आबद्धतामा पनि जोड दिएका छन् । यस्तो आबद्धता नहुँदा व्यापार वृद्धिमा अवरोध भइरहेको उनीहरूको भनाइ छ ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दक्षिण एसिया क्षेत्रमा यातायात क्षेत्रको विकासमार्फत अन्तरआबद्धता वृद्धि गर्ने विषयलाई सरकारले प्राथमिकतामा राखेको बताए ।
उड्डयन, रेलमार्ग, सडक तथा पानीजहाजको विकासमार्फत आबद्धता वृद्धि गरिने उनले बताए ।
उनले आफू आबद्ध मन्त्रालयका ५७ प्रतिशत आयोजना विदेशी लगानीमा सञ्चालित रहेको र नेपाल सरकारको लगानीमा आधाभन्दा कम आयोजना मात्रै सञ्चालनमा रहेको बताए ।
पूर्वाधार निर्माण वृद्धि गर्नको लागि निजी क्षेत्रको लगानीलाई सरकारले उच्च प्राथमिकतामा राखेको उनले बताए ।
यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री देवेन्द्र दाहालले औद्योगिक पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताए । पूर्वाधार विकासमा सबै क्षेत्रसँग हातेमालो गरेर अगाडि बढ्न सरकार तयार रहेको उनले बताए ।
यस्तै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्मेलनले एक्काईसौं शताब्दीको आवश्यकताअनुरूपको आधुनिक, सुरक्षित र हरित पूर्वाधार विकासको मार्गचित्र कोर्न ठोस योगदान गर्ने विश्वास लिएको बताए ।
पौडेलले समस्त नेपाली आकांक्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’ भएको बताउँदै सरकार यही नेपाली आकांक्षा साकार पार्न अनवरत लागिरहेको बताए ।
कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई प्राथमिकतामा राखिएको बताए ।
भारतसँगका केही प्रसारण लाइन निर्माणको कामले गति लिएको र बंगलादेशमा विद्युत निर्यातका लागि आवश्यक प्रसारण लाइनले जोड्ने प्रयास भइरहेको बताए ।
यस्तै अन्तरदेशीय रेलवे कनेक्टिभिटी, नेपाल-भारत क्रसबोर्डर डिजिटल भुक्तानी आदिका बारे पनि उनले चर्चा गरेका थिए । क्रसबोर्डर डिजिटल भुक्तानी सेवाले दुई देशका नागरिकलाई भुक्तानीमा सहज हुँदै गएको र यो सेवा प्रयोग गर्नेको संख्या छोटो समयमै उत्साहजनक देखिएको भन्दै उनले यसले रेमिट्यान्स आप्रवाहमा पनि सहजता मिलेको बताए ।
नेपालमा विद्युत उत्पादनको क्षमता क्रमशः बढ्दै गएको र अन्तर्राष्ट्रिय विद्युत व्यापारमार्फत राम्रो आम्दानी भइरहेको उनले सुनाए ।
कार्यक्रममा अन्य वक्ताहरूले जलवायु परिवर्तनको प्रभावले नेपालको समग्र आर्थिक विकासमा प्रभाव पारिरहेको बताएका थिए । पर्यटन, व्यापार व्यवसाय आदिमा यसको नकारात्मक प्रभाव परिरहेको भन्दै उनीहरूले जलवायु परिवर्तनको असर न्यूनीकरणमा सबै मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए ।
FACEBOOK COMMENTS