बुटवल । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणनामा सभापतिका उम्मेदवार अमरसिंह पुनले अग्रता लिएका छन् । कुल तीन सय ६५ मत गणना हुँदा पुनले दुई सय १० मत प्राप्त गरेका छन् ।
सभापतिका अर्का प्रत्यासी भरतकुमार शाहले एक सय ४७ मत प्राप्त गरेका छन् । पुन रामचन्द्र पौडेल समूहका हुन् भने शाह संस्थापन निकट मानिन्छन् । उनी संसदको सार्वजनिक लेखा समितिका सभापति हुन् ।
यस्तै, उपसभापतिमा अष्टभुजा पाठकले दुई सय चार, भुवनप्रसाद श्रेष्ठले दुई सय आठ, राजु खनालले एक सय ४७ र सुधाकर पाण्डेले एक सय १८ मत ल्याएका छन् । अग्रता हासिल गरेका दुवै जना पौडेल प्यानलका हुन् ।
महामन्त्रीमा विक्रम खनालले दुई सय १८, सुरेन्द्रराज आचार्यले दुई सय ११, खिमानसिंह रायमाझीले एक सय २३ र जन्मजय तिमिल्सेनाले एक सय २७ मत ल्याएका छन् । अन्य पदाधिकारी एवं सदस्यमा पनि पौडेल समूहका उम्मेदवारले अग्रता लिएका छन् ।
शनिबार राति १२ बजेदेखि सुरू भएको मत गणनामा अहिलेसम्म तीन सय ६५ मत गणना भएको निर्वाचन समिति संयोजक बुद्धबहादुर थापाले बताए । खुलातर्फ तीन सय र जिल्लातर्फ करिब तीन सय ६५ मत गणना भएको उनले जानकारी दिए ।
शनिबार बिहान ११ बजेदेखि भैरहवास्थित महेन्द्र सभागृहमा सुरू भएको मतदान साँझ साढे ५ बजे सकिएको थियो ।
FACEBOOK COMMENTS