काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेस राजावादी समूहले यही जेठ १५ गते गर्न लागेको आन्दोलनको पक्षमा देखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरूले गर्न लागेको आन्दोलनको प्रतिकार गर्ने अभिव्यक्ति दिएकामा कांग्रेसले त्यसमा आफ्नो सहमति नरहेको स्पष्ट गरेको हो ।
सोमबार बिहान सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा कांग्रेसको पदाधिकारी बैठक बसेको थियो । बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस संविधानको प्रतिरक्षाको पक्षमा रहेको तर प्रधानमन्त्री ओलीले भनेजस्तो कब्जाको पक्षमा नरहेको बताए ।
उनले संविधानले दिएको अधिकार प्रयोग गर्न पाइने तर संविधानले व्यवस्था गरेका आधारभूत कुराको विपक्षमा गतिविधि गर्न नपाइने विषयमा कांग्रेस स्पष्ट रहेको बताए ।
हिजो आइतबार प्रधानमन्त्री ओलीले जेठ १५ गते काठमाडौं एमालेको कब्जामा हुने बताएका थिए । राजावादीहरूको आन्दोलनको प्रतिकामा ओलीले सो अभिव्यक्ति दिएका हुन् ।
नेकपा (एमाले) का बागमती प्रदेशका वडा अध्यक्षहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जेठ १५ गतेको तयारी थाल्न निर्देशन दिएका थिए ।
उनले भनेका थिए, ‘पार्टीको निर्देशन पछि आउँछ, जस्तो जे गर्नुपर्छ तयारी हालतमा बस्नुहोला, जेठ १५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौंमा नेकपा (एमाले) को नियन्त्रण हुनुपर्छ, कसरी कुन संस्थाले अगाठि लाग्छ, आयोजना गर्छ त्यो छोडिदिनुस् ।’
प्रधानमन्त्री ओलीले राजावादीहरूलाई खाओवादीको सङ्ज्ञा दिँदै जनतालाई भ्रममा पार्ने दुष्प्रयास भइरहेको बताएका थिए । उनले नेपालमा राजसंस्था नफर्कने पनि दाबी गरेका थिए ।
FACEBOOK COMMENTS