काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीका सबै अभिव्यक्तिको जिम्मेवारी नलिने स्पष्ट गरेको छ ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको पदाधिकारी बैठकपछि मिडियासँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीको गैरजिम्मेवार अभिव्यक्तिका लागि कांग्रेस जिम्मेवार नहुने बताएका हुन् ।
जेठ १५ गते राजावादीले गर्न लागेको आन्दोलनका विषयमा लक्ष्य गर्दै प्रवक्ता महतले कांग्रेस संविधानको रक्षाको पक्षमा रहेको तर प्रधानमन्त्री ओलीले भनेजस्तो कब्जाको पक्षमा नरहेको धारणा व्यक्त गरे ।
उनले संविधानले दिएको अधिकार प्रयोग गर्न पाइने तर संविधानले व्यवस्था गरेका आधारभूत कुराको विपक्षमा गतिविधि गर्न नपाइने विषयमा कांग्रेस स्पष्ट रहेको बताए ।
उनले भने ‘प्रधानमन्त्री एमाले पार्टीको नेता पनि हुनुहुन्छ । सबै उहाँले भनेका कुराको जिम्मेवारी हामीले लिने कुरा पनि भएन । हामी कब्जा–सब्जाको पक्षमा छैनौँ । हामी समग्रमा संविधानको प्रतिरक्षाको पक्षमा छौँ । संविधानले दिएका अधिकार प्रयोग गरेर विरोध गर्न पाइन्छ, आफ्ना कुरा राख्न पाइन्छ, त्यो शान्तिपूर्ण रूपमा राख्नुपर्छ । तर संविधानकै खिलापमा जान्छौँ भन्ने कुरा ठीक होइन भन्नेमा विश्वस्त छौँ ।’
कांग्रेसको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक दोषी नभएको निष्कर्ष पनि निकालेको छ ।
FACEBOOK COMMENTS