 
			                  			              
काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशनको विषय पेचिलो बन्दै गएको छ । बिहीबारको केन्द्रीय समितिको बैठक महामन्त्री गगन थापाले बहिष्कार गरेपछि यसलाई गगनको विद्रोहको रूपमा हेरिएको छ ।
मंसिरभित्र नियमित वा विशेष महाधिवेशनको कार्यतालिका केन्द्रीय समितिको बैठमा पेश गर्ने प्रयासमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमति नजनाएपछि महामन्त्री थापाले बिहीबारको बैठक नै बहिष्कार गरेका थिए ।
यसैबीच, कांग्रेसका नेता शेखर कोइरालाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूसँग कांग्रेसमा देखिएको अहिलेको विवादका विषयमा छलफल गरेका छन् ।
शुक्रबार बिहान भएको छलफलमा कोइराला पक्षका अन्य नेताहरू पनि सहभागी थिए । उनीहरूले नियमित महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा छलफल गरेको बताइएको छ ।
साथै, ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरसमेत बुझाएको विषयमा पनि जारी केन्द्रीय समिति बैठकले निर्णय गर्नुपर्ने अवस्था छ ।

कांग्रेसमा अहिले नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन गर्ने र कहिले गर्ने भन्नेमा विवाद छ । संस्थापन पक्ष तत्काल महाधिवेशनमा जान चाहेको छैन भने दुई महामन्त्री र शेखर कोइराला पक्ष तत्काल महाधिवेशन गर्नुपर्ने पक्षमा छन् ।

कांग्रेसको अहिलेको कार्यसमितिको पदावधि मंसिर महिनासम्म छ भने विधानमा एक वर्ष पदावधि थप्न सकिने व्यवस्था छ ।

गत असोज २८ गतेदेखि जारी रहेको केन्द्रीय समितिको बैठक आज पनि दिउँसो १ बजे बस्दै छ ।

 
              
              
              
              		              
FACEBOOK COMMENTS