काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२० र एकदिवसीय खेलका लागि अलग अलग कप्तान बनाएको छ । दिपेन्द्र सिंह ऐरीलाई टी–२० को कप्तान बनाइएको छ भने रोहित पौडेलले एकदिवसीय खेलमा मात्र कप्तानी गर्ने भएका छन् ।
क्यानले टियु क्रिकेट मैदानमा अप्रिल २० र २१ मा हुने नेपाल र युएईबीचको टी–२० खेलको लागि ऐरीको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । जसमा दीपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ सेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल रहेका छन् । त्यस्तै बैकल्पिक खेलाडीमा प्रतिस जीसी, नारायण जोशी र रसिद खान रहेका छन् ।
टी–२० टिमबाट रोहित पौडेल, सोमपाल कामी,आसिफ सेख, करण केसीलाई बाहिर राखिएको छ भने पीएम कपमा राम्रो प्रदर्शन गर्ने खेलाडीलाई अवसर दिइएको छ ।
त्यस्तै अप्रिल २५ देखि मे ५ सम्म हुने टियु क्रिकेट मैदानमा हुने नेपाल, युएई र ओमानबीचको आइसीसी डिभिजन लिग–२ अन्तर्गतको सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरिएको छ ।
जसमा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरि (उप–कप्तान), कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, आरिफ सेख, बसिर अहमद, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र कारण केसी रहेका छन् । त्यस्तै वैकल्पिक खेलाडीमा हेमन्त धामी, शेर मल्ल, रिजन ढकाल, ईशान पाण्डे र देव खनाल रहेका छन् ।
