काठमाडौं : दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली भोलि सोमबार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छ ।
राष्ट्रिय फुटबल टोलीले आइतबार माल्दिभ्स छाड्नेछ । हवाईमार्गबाट कतारको दोहाहुँदै टोली सोमबार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले समर्थकहरुलाई टोलीलाई निरन्तर साथ दिन आग्रह गर्दै स्वागतमा विमानस्थलमा उपस्थित हुन आग्रह गरेका छन् ।
‘सबै नेपाली समर्थकका लागि मेरो विशेष आग्रह छ । जब राष्ट्रिय टोली नेपाल फर्कन्छ । सबैजना विमानस्थल पुगेर सम्मान गरिदिनु होला,’ फाइनलपछि उनले भनेका थिए,‘यही स्तरमा निरन्तर खेलिरहने हो भने खेलाडीलाई साथ र समर्थन गर्नुपर्छ ।’
माल्दिभ्सको राजधानी मालेमा शनिबार राति भएको फाइनलमा नेपाल भारतसँग ३–० गोलले पराजित भएको थियो । साफ च्याम्पियनसिपको २८ वर्षको इतिहासमा नेपाली टोलीले पहिलो पटक फाइनल खेलेको हो । नेपालले यसअघि सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।
एक महिना लामो समयपछि नेपाली टोली स्वदेश फर्कन लागेको हो । साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली टोली गत भदौ २५ गते कतार गएको थियो । कतारमा तयारी गरेपछि साफ च्याम्पियनसिपका लागि असोज ११ गते माल्दिभ्स पुगेको थियो ।
FACEBOOK COMMENTS