काठमाडौं । इटालीको लोनाटो डेल गार्दमा ‘नेपाल टुडे : इन द फरेस्ट, इन द भिलेजेज’ शीर्षकको फोटोग्राफी प्रदर्शन गरिएको छ ।
जसमा इटालियन क्युरेटर फिलिपो माज्जाको छनोटमा तीन नेपाली फोटोग्राफर : किशोर शर्मा, उमा विष्ट, र सागर क्षेत्रीले खिचेका तस्बिर प्रदर्शनीमा राखिएको छ ।
प्रदर्शनी अगस्ट ३० सम्म खुला रहनेछ । प्रदर्शनीमा रहेको किशोर शर्माको फोटो श्रृंखला ‘लिभिङ इन द मिस्ट’ले घुमन्ते राउटे समुदाय र उनीहरूको जीवनशैलीको बारेमा छ वर्षको अवधिमा गरिएको फोटो दस्तावेजीकरण प्रस्तुत गरेको छ ।
उही शीर्षकको फोटो पुस्तकको रूपमा पनि प्रकाशित यो श्रृंखलाले ‘आधुनिक’ संसारमा समाहित नहुनका लागि राउटेहरूले गरिरहेको प्रतिरोधको दुर्लभ झलक प्रदान गर्नुका साथै वैकल्पिक र स्वायत्त जीवन शैलीको सम्भावना पनि प्रतिबिम्बित गर्दछ ।
उमा विष्टको फोटो श्रृंखला ‘वनका हाम्रा गीत’ले नेपालको अछाम जिल्लाका किशोरीहरूलाई पछ्याउँछ, जो छाउपडी प्रथाले गर्दा महिनावारीको समयमा अपवित्र र अछुत बनाएर गोठमा बस्न बाध्य पारिन्छ । २००५ मा गैरकानुनी र २०१८ मा दण्डनीय अपराध भनेर घोषणा गरिए तापनि बहिष्कार र दैवीय दण्डको डरले यो परम्परा कायमै छ ।

त्यसैगरी, सागर क्षेत्रीको फोटो श्रृंखला ‘एक्लिप्स’ले नेपालको दक्षिणी सिमावर्ती क्षेत्रमा रहेको मधेशका जनताको राज्यसँगको जटिल सम्बन्ध र प्रायः विवादित बनाइने पहिचानको चर्चा गर्दछ । यो शृंखलाले सीमावर्ती क्षेत्र मधेशका राजनीतिक गुनासा, उनीहरूका पुस्तामा भएको पहिचानको सबैभन्दा महत्त्वपूर्ण संघर्षलाई दर्शाउँछ ।

प्रदर्शनीको परिचयमा क्युरेटर फिलिपो माज्जाले हाल पश्चिमी समाजमा फोटोग्राफीले आफ्नो बाटो बिराएको हो कि भन्ने प्रश्न गर्दै दक्षिणी गोलार्धमा भने कसरी अझै पनि फोटोग्राफरले आफ्नो काम मार्फत सामाजिक मुद्दा उठान गरिरहेका छन् भनेर भिन्नताका बारेमा चर्चा गरेका छन् ।