काठमाडौं । नेपाली कवि, लेखक तथा साहित्यिक उत्सवकी एक अगुवा रञ्जना निरौलाले इटालीको प्रतिष्ठित ‘इल मेलेतो दि गुइडो गोजानो’ साहित्य पुरस्कारको ‘ग्रान्ड जुरी प्राइस’ पाएकी छिन् । निरौलाको कविता ‘सिटी लाइट्स’ले त्यो प्राइस पाएको हो ।
सन् २०२६ को मार्चमा आह्वान गरिएका विश्वभरका कविताबाट निरौलाको कविता पनि छनोट भएको हो । विभिन्न मुलुकका कवि, लेखक, सम्पादक तथा कलाकारको जुरीले उनलाई त्यो प्राइस दिने निर्णय गरेका हुन् ।
शिलापत्रसँग कुरा गर्दै निरौलाले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय समुदायमा लान आफ्नो प्राइस एक अवसर भएको बताउँछिन् । उनी भन्छिन्, ‘यो सम्मानलाई व्यक्तिगत उपलब्धि मात्र नभई नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय मञ्चमा बढ्दो उपस्थिति र यात्राको पहिचानका रूपमा लिएको छु ।’
वैदेशिक लेखक जुरीमा ओमानकी अमिता सङ्घवी, संयुक्त अधिराज्यकी दाना नेरी, ग्रीसकी जान्थी होन्द्रो हिल, फ्रान्सका मार्को पेर्ना र अर्जेन्टिनाकी अलेहान्द्रा मिरान्डा रहेका थिए । जुरीको संयोजन लिलिता कोनरियरी र लिडिया कियारेलीले गरेका थिए ।
अमिता सङ्घवी ओमानको सुल्तान काबुस विश्वविद्यालयसँग सम्बद्ध छिन् । दाना नेरी बेलायतमा आधारित पत्रकार, अनुवादक, सम्पादक तथा कन्टेन्ट म्यानेजर हुन् । जान्थी होन्द्रो हिल पुरस्कार विजेता ग्रीक कवि तथा अनुवादक, पेन ग्रीसकी सदस्य र नाउसा अन्तर्राष्ट्रिय कविता महोत्सवकी संस्थापक तथा निर्देशक हुन् ।

फ्रान्सका मार्को पेर्ना साहित्य र दृश्य कलामा सक्रिय कवि तथा कलाकार हुन् भने अर्जेन्टिनाकी अलेहान्द्रा मिरान्डा दृश्य कलाकार, लेखिका तथा क्युरेटर हुन् । लिडिया कियारेली अन्तर्राष्ट्रिय साहित्यिक समुदायमा सक्रिय कवि, अनुवादक र वेबमास्टर हुन् ।