काठमाडौं । सामाजिक विषयवस्तुमा निर्माण भएको चलचित्र ‘आँखा’ असोज ११ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले नयाँ पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरेको छ । लामा सिनेमाको प्रस्तुतिमा तयार भएको सिनेमालाई जोन योञ्जनले लेखन तथा निर्देशन गरेका हुन् ।
चलचित्रमा स्मिता लामिछाने, आरके मेहता, निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रवीण खतिवडा, लुनिभा तुलाधर, रवीन्द्र झा, रेनुका कार्की, अभयराज बराल, मोहन अभिलाषीलगायत कलकारहरूको अभिनय छ ।
बाल कलाकारको भूमिकामा प्रसन राई छन् । राईले चलचित्र ‘गाउँ आएको बाटो’ मा समेत मुख्य भूमिका निर्वाह गरेका थिए ।
चलचित्रको पोस्टर र मुख्य भूमिकामा स्मिता लामिछाने र आरके मेहता देखिन्छन् । लामिछानेले यसअघि ‘बाह्र सत्ताइस’, ‘म राजेश हमाल’ लगायतका थुप्रै चलचित्रहरूमा अभिनय गरिसकेकी छिन् भने आरके मेहता यसै चलचित्रमार्फत डेब्यु गर्दै छन् । उनले यो चलचित्रका लागि १५ किलो वजन घटाएका थिए ।
रंगमञ्चमा लामो समय सक्रिय मेहताले शिल्पी थिएटरमा ‘जेसिमो बेटा भर्सन’, ‘कोमा’, ‘माझिपा लाखे’, ‘नारी’, ‘के लाग्यो हाल्का ले’, ‘एल्लो कमेडी’ जस्ता थुप्रै नाटकहरू गरेका थिए । उनी ‘हारजित’ ‘वीच’, ‘जिउँदो आकाश’ नाटकका अभिनेता तथा निर्देशक पनि हुन् ।
उनले इटलीमा एकडेमिया डेल आर्ते मा फिजिकल थिएटरको डिप्लोमा गरेर त्यही प्रशिक्षण पनि दिएका थिए । इटलीमा पनि उनले धेरै प्रदर्शनहरू गर्नुका साथै नेपालको मण्डला थिएटर, कान्तिपुर फिल्म एकेडेमी, एनएफडीसी, पिफिटमा पनि वर्कशप दिएका थिए ।
चलचित्रलाई जौन योञ्जन आफैंले निर्माण गरेका छन् । सहनिर्माताका रूपमा रेनुका कार्की रहेकी छिन् । ढाका टोपी फिल्म्स, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा तयार भएको चलचित्र ‘आँखा’ को छायांकन आलोक शुक्लाले गरेका हुन् ।
मानवता, सामाजिक दबाब, नैतिकता र गरिबीजस्ता विभिन्न जटिल विषयवस्तुहरू अन्वेषण हुन जरूरी छन् । यो फिल्म आधुनिक समाजमा तल्लो वर्गको संघर्ष र बाँच्नका लागि मानिसहरू समयको कति लामो गहिराइसम्म जान्छन् भन्ने मार्मिक दृष्टिकोण भएको निर्देशक बताउँछन् । दुःख एक्लोपनजत्तिकै भयानक र त्रासपूर्ण हुन्छ, यही परिधिभित्रको रमाइलो कथा ‘आँखा’ हो ।
निर्देशक योञ्जनले यसअघि ‘बाह्र सत्ताइस’ र ‘म राजेश हमाल’ निर्देशन गरिसकेका छन् । चलचित्र ‘बाह्र सत्ताइस’ प्रदर्शन भएर पनि युट्युबमा आइसकेको छ भने ‘म राजेश हमाल’ प्रदर्शनको तयारीमा छ । उनी नयाँ चलचित्र ‘रोल नं. १’ को निर्माणको तयारीमा लागेका छन् ।
FACEBOOK COMMENTS