काठमाडौं । भदौ २३ गतेदेखि सुरु भएको जेन्जी आन्दोलनले देशभर आर्थिक क्षेत्रमा ठूलो असर पुर्याएको छ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार, भदौ ३१ गतेसम्ममा १,९८४ वटा बीमा दाबी दर्ता भइसकेका छन्, जसको प्रारम्भिक बीमा दाबी रकम २० अर्ब ७० करोड ३८ लाख रुपैयाँ पुगेको छ।
सबैभन्दा बढी क्षति देखिएको बीमा कम्पनी हो द ओरियण्टल इन्स्योरेन्स, जहाँ ४० वटा दावीमार्फत ५ अर्ब १४ करोड रुपैयाँको दावी परेको छ। त्यसपछि दोस्रो स्थानमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा २५८ वटा दाबी दर्ता भई ४ अर्ब ९३ करोडको क्षतिको अनुमान गरिएको छ। तेस्रो स्थानमा रहेको शिखर इन्स्योरेन्समा ३६६ वटा दाबी दर्ता भइसकेका छन्, जसको प्रारम्भिक दाबी रकम २ अर्ब ३९ करोड रुपैयाँ नाघेको छ।
अन्य प्रमुख बीमा कम्पनीहरूको दाबी स्थिति पनि उल्लेखनीय छ। आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा २४ वटा दाबीबाट १ अर्ब ५९ करोड, सगरमाथा लुम्बिनीमा २३३ दाबीबाट १ अर्ब ४७ करोड, हिमालयन एभरेष्टमा १९६ दाबीबाट १ अर्ब १५ करोड, र नेको इन्स्योरेन्समा ४० दावीबाट १ अर्ब ९ करोड रुपैयाँको प्रारम्भिक दावी परेको छ।
बीमा प्राधिकरणले साना तथा मझौला इन्स्योरेन्स कम्पनीहरूको विवरण पनि सार्वजनिक गरेको छ। जसमध्ये सानिमा जिआइसी, राष्ट्रिय बीमा कम्पनी, युनाइटेड अजोड, नेपाल इन्स्योरेन्स, एनएलजी, प्रभु इन्स्योरेन्स लगायतका कम्पनीमा समेत करोडौं रुपैयाँ बराबरको दावी दर्ता भइसकेको छ।
माइक्रो इन्स्योरेन्स कम्पनीहरूमा पनि असर परेको देखिएको छ। प्रोटेक्टिभ, स्टार, नेपाल माइक्रो, र ट्रस्ट माइक्रो इन्स्योरेन्समा मिलाएर करिब २ करोड रुपैयाँको बीमा दाबी दर्ता भएको छ।
जेन–जी आन्दोलनबाट पीडित व्यवसायी र सर्वसाधारणलाई तत्काल राहत पुर्याउन बीमा प्राधिकरणले छरितो दाबी भुक्तानी प्रक्रिया अघि बढाउन निर्देशन दिइसकेको छ। बीमा कम्पनीहरूलाई तीव्र रूपमा विवरण संकलन गरी दाबी भुक्तानी गर्न भनिएको छ, जसले संकटमा परेका धेरै नागरिकलाई राहत दिने अपेक्षा गरिएको छ।
FACEBOOK COMMENTS