काठमाडौं । बेरोेजगारीको भुंग्रोमा परेका नेपाली दुई–चार पैसा कमाउन भारत पस्छन् । वर्षदिन रगत–पसिना बगाउँछन्। त्यसकै कमाइ बोकेर दसैं, तिहारलगायत चाडबाड मनाउन घर फर्किंदा बाटोमा लुटिन्छन्। कतिपय त सबै लुटिएर रित्तो हात फर्किनुपर्छ।
डोटीको केआई सिंह गाउँपालिका–४ चंगेसेनका प्रताप विकले भारतको पञ्जाबबाट दीपायलसम्मको गाडी भाडा ३ हजार ६ सय ८० तिरे। ‘बाटोमा सामान झार्न, चढाउन समस्या हुन्छ भनेर यति महँगो रकम तिरेँ। तर, केही सजिलो भएन’ विकले भने, ‘झन् तीन दिनमा मात्रै बोर्डर पुर्यायो। तीन महिनामा जोगाएर ल्याएको रकम बाटोमै सकिन थाल्यो।’
पञ्जाबबाट रोडवेज गाडीको भाडा गौरीफन्टा सीमासम्म ८ सय भारु छ । नेपाली १ हजार २ सय ८० रुपैयाँ हो। धनगढीबाट दीपायलसम्म बस चढ्दा ६ सय ५० रुपैयाँ तिर्नुपर्छ। आफैं टिकट काटेर गन्तव्य गए कुल १ हजार ९ सय ३० रुपैयाँ खर्च हुन्छ। ‘बोर्डरसम्म नेपाली ५ हजार नाघ्यो’, केआई सिंह गाउँपालिकाकै वडा नम्बर १ का गोपाल औजीले भने । भारतको लधियानाबाट डोटीको डुमराकोट जान लागेको औजीले सुनाए।
‘हामीलाई छिटो हुन्छ भने। दसैंका बेला भएकाले आएकै दिन धनगढीबाट पनि दीपायलको गाडी पाउँदैन। एकमुस्ट टिकट काट्यो भने धनगढी पुग्नेबित्तिकै दीपायल हिँड्ने भने’, उनले भने, ‘तर, तीन दिन भयो बल्ल गौरीफन्टा नाकामा आइपुगेका छौं।’
दसैं नजिकिँदै गर्दा भारतका विभिन्न स्थानबाट गौरीफन्टा नाका भएर घर फर्किँदै नेपालीहरू। शिवराज भट्ट घरमा खान नपुगेर मजदुरीका लागि भारत गएका नेपालीहरूमाथि यस्तो हर्कत गर्नेहरूलाई कुनै पनि हालतमा छोड्दिन।
पञ्जाबबाट बेलुकी हिँडेको बस अर्को दिन बिहान गौरीफन्टा पुगिहाल्छ। तर, कैलालीसँग सिमाना जोडिएको लखिमपुरमा किसान आन्दोलनमा झडप हुँदा आठ जनाको ज्यान गएपछि सवारी साधन बाटोमै रोकिएका कारण तीन दिन लागेको हो। यो यात्रामा नेपाली मजदुरहरू नेपालीबाटै महँगो टिकटबाट ठगिइरहेका छन्। डोटीकै बोगटानका बलराम क्षेत्रीले दुई झोला सामान बढी भएकाले पञ्जाबबाट दीपायलका लागि २ हजार ५ सय भारु (नेरु ४ हजार) तिरेको सुनाए।
गाडी भाडामा चर्को असुली त भयो नै, सीमा नाकामा उस्तै ठगी हुन्छ। गौरीफन्टा नाकामा भारतीय बसबाट झरेपछि नेपालतिर अटो रिक्सा वा नगर बस पक्रनेसम्मको दूरी २ सय मिटर छ। त्यो बीचमा भारतीय भन्सार कार्यालय, भारतीय प्रहरी चौकी, दुधवा नेसनल पार्कको कार्यालय र एसएसबीको बिट छन्। जहाँ एक नेपाली कम्तीमा ५ सय भारु अनावश्यक रूपमा तिर्न बाध्य हुन्छन्। एसएसबीबाहेक दुधवा नेसनल पार्क, भारतीय प्रहरी र सबैभन्दा बढी भन्सारका कर्मचारीले हरेक नेपाली मजदुरबाट रकम असुल्ने गरेका छन्।
‘यसको कुनै हिसाब हुँदैन। उनीहरू सामानको पोका हेरेर रकम लिन्छन्। सानो पोका र झोलाहरू छन् भने सय÷दुई सय, ठूलो पोका छन् भने पाँच सय पनि’, सीमा नाकामा कार्यरत एक स्वास्थ्यकर्मीले भने, ‘हामीले टुलुटुलु हेर्नुको विकल्प छैन। यो रोक्ने दायित्व सरकारको हो ।’ अछामको जयगढका हरिराम सार्कीले नाकामै ६ सय खर्च भएको बताएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS