काठमाडौं । जापान सरकारले नेपाललाई १६ अर्ब भन्दा बढी ऋण तथा अनुदान सहायता दिने भएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सहायता उपलब्ध गराउनेबारे सम्झौता भएको छ ।
पूर्वी तराई क्षेत्रमा सिंचाइ प्रणालीको पुनर्स्थापना सुधार आयोजना कार्यान्वयन गर्न जापानी येन २२५.६० करोड (करिब रु २ अर्ब) अनुदान सहायता बराबरको सम्झौता भएको हो । सोही अवसरमा शहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयनका लागि जापानी येन १५९.०१ करोड (करिब रु १४.२ अर्ब) बराबरको सहुलियतपूर्ण ऋण सहायता उपयोग गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
अनुदान सहायता मुख्यतया पूर्वी तराई क्षेत्रमा भरपर्दो र निरन्तर सिंचाइ सुविधाका लागि चन्द्र नहर सिंचाइ प्रणालीको मर्मत सम्भार एवम् सुधारका लागि प्रयोग गरिने अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
वार्षिक ०.०१ प्रतिशत व्याजदर, ३० वर्षको भुक्तानी अवधि र १० वर्षको ग्रेस अवधि रहेको सहुलियतपूर्ण ऋण काठमाडौं र पोखरा लगायतका सहरमा प्रसारण चुहावट घटाउन र वितरण प्रणालीको विश्वसनीयता बढाउनका लागि प्रयोग गरिने मन्त्रालयले जनाएको छ ।
FACEBOOK COMMENTS