काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले एएमएल/सीएफटीसम्बन्धी तालिम प्रदान गरेको छ ।
सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन २०७५ को दफा १५ को नियम अनुसार सञ्चालक समितिका सदस्य तथा विभागीय प्रमुखहरूलाई सो तालिम प्रदान गरिएको कम्पनीले जनाएको छ ।
शनिबार धुलिखेलस्थित सोल्टी वेस्टइन्ड रिसोर्टमा सम्पन्न भएको एएमएल/सीएफटीसम्बन्धी तालिममा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय संस्थाबाट हुनसक्ने समस्या तथा त्यसका समाधानहरूको बारेमा प्रशिक्षण प्रदान गरिएको थियो ।
कार्यक्रममा पछिल्लो समय नेपालको पारस्परिक मूल्याङ्कन प्रतिवेदनले इन्स्योरेन्स क्षेत्रसँग सम्बन्धित उठान गरेका विषयहरू र अवलम्बन गर्नुपर्ने रणनीतिको बारेमा प्रकाश पारिएको थियो । सम्पत्ति शुद्धीकरण ऐनले सञ्चालक समितिको काम कर्तव्य र अधिकारकोे बारेमा गरेको व्यवस्था प्रकाश पार्नुका साथसाथै त्यसलाई कार्यान्वयन गर्न कसरी अगाडि बढ्ने भन्ने विषयमा गम्भीरतापूर्वक छलफल गरिएको थियो ।
कम्पनीले एएमएल/सीएफटीसम्बन्धी संस्थामा चाल्नुपर्ने कदमहरू तथा त्यसलाई कार्यान्वयन गर्नका निम्ति अवलम्बन गर्नुपर्ने पद्धति, प्रक्रिया, नीति नियम तर्जुमा गरी त्यसलाई प्रभावकारी ढङ्गबाट कार्यान्वयन गर्न संस्थाको के कस्तो भूमिका हुन्छ भन्ने बारेमा पनि प्रशिक्षकले प्रकाश पारेका थिए । सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसँग नेपालमा घटित कसुरका र उक्त कसुरहरूबाट प्राप्त भएका सिकाइहरूले आगामी दिनमा त्यस्ता घटनाहरू न्यूनीकरण गर्नका निम्ति कम्पनीलाई सहज हुनेमा कम्पनी विश्वस्त रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सोही कार्यक्रममा सम्पत्ति शुद्धीकरण सम्बन्धमा अन्तर्राष्ट्रिय स्तरमा भएका असल अभ्यासहरू र त्यसबाट स्थापित अवधारणाहरूको आधारमा नेपालमा सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन तथा नियमहरू तर्जुमा गरिएको र त्यसको अक्षरश: पालना गर्नका निम्ति र मुलुकलाई आपराधिक र आतङ्कवादी गतिविधिहरूबाट जोगाई एक समृद्ध समुन्नत राष्ट्र निर्माण गर्न हामी सबैको जिम्मेवारी रहेको र त्यो जिम्मेवारीबोध गर्दै अग्रपङ्क्तिमा लम्कन नेपाल लाइफ तयार रहेको कुरा कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोबिन्द लाल संघईले प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपालमा बनेका नीति नियमहरूको अक्षरस पालना गर्न सकिएमा वित्तीय अपराधहरू न्यूनीकरण हुनेमा आफू विश्वस्त रहेको र कानुनी प्रावधानहरूको बारेमा जानकारी प्रदान गर्ने अभिप्रायका साथ नै यस तालिमको आयोजना गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले बताए ।
FACEBOOK COMMENTS