काठमाडौँ । दशैँलाई लक्षित गर्दै असारमै चीनबाट कपडा माग गरे पनि व्यापारी सुदर्शन घिमिरेको कपडा लिएर आएको कन्टेनर एक महिनादेखि केरुङ नाकामै अड्किएको छ ।
मागबमोजिम आफ्नो सामान नआए पनि घिमिरेलाई यस पटक खास चिन्ता भने छैन । थोक कपडा व्यापारका लागि देशकै ठूलोमध्येको रञ्जना मलस्थित घिमिरेको श्वेत वराह इन्टरप्राइजेजमा व्यापार निरन्तर नै चलिरहेको छ । पछिल्ला दिनमा बढेको दशैँको चापले उहाँसहितका व्यापारीको व्यस्तता पनि बढाएको छ ।
चीनबाट कपडा नआए पनि स्वदेशमै उत्पादित कपडाले साथ दिइरहेको घिमिरेको भनाइ छ । “मेरो कपडा व्यापारमध्ये ७० प्रतिशत अहिले नेपाली उत्पादन नै छ,” उनले भने, “बाँकी ३० प्रतिशत मात्र चिनियाँ कपडा छ । ” उनका अनुसार चिनियाँ कपडा पनि वैशाखमा आयात गरेमध्येको बाँकी मात्र हो ।
आफ्नो सामान बोकेको कन्टेनर दशैँअघि नआए पनि स्वदेशी कपडाले नै धान्न सक्ने उहाँको विश्वास छ । घिमिरे मात्र हैन, चीनबाट कपडा आयात नहुँदा यतिबेला धेरै व्यापारीलाई स्वदेशमै उत्पादन भएको कपडाले साथ दिइरहेको छ । दशैँको माहोल सुरु हुनासाथ चिनियाँ कपडाले भरिभराउ हुने नेपाली बजारमा यस पटक स्वदेशी कपडाको हिस्सा बढेको छ ।
कपडाका ४२२ वटा थोक पसल रहेको रञ्जना मलकै समग्र व्यापारमा पछिल्लो समय नेपाली कपडाको हिस्सा बढिरहेको रञ्जना व्यापार सङ्घका महासचिव रामकुमार तिमल्सिना बताउछन् । “विगतमा ५ देखि ७ प्रतिशत मात्र नेपाली कपडाको व्यापार हुन्थ्यो,” उनले भने, “अहिले कुल व्यापारमा यसको हिस्सा बढेर २५ प्रतिशतसम्म पुगेको छ । ”
नेपाली कपडाको हिस्सा बढ्दा चीनतर्फबाट कन्टेनर नआउँदा व्यापारमा धेरै समस्या नभएको उनको अनुभव छ । “विगतमा एकै दिन १५० वटासम्म कन्टेनर चीनबाट आउँथ्यो,” उनले भने, “तर अहिले दिनमा बढीमा २० वटा मात्र आउँदा पनि व्यापार रोकिनु परेको स्थिति भने छैन ।” कपडा व्यापार छाडेर चार वर्षदेखि कपडा उत्पादनमा लाग्नुभएका थ्रेड गार्मेन्टका सञ्चालक कृष्णराज तिमल्सिना पनि नेपाली कपडाको खपत यस पटक दुई गुणाले बढेको बताए ।
“गुणस्तरमा चीन र भारतको उत्पादनभन्दा पनि राम्रो अनि मूल्य त्यहाँको भन्दा सस्तो भएकाले पनि नेपाली कपडाको बजार बढेको छ,” उनले भने । उनकै लगानीमा सञ्चालित थ्रेड गार्मेन्टबाट अहिले पूर्ण क्षमता अर्थात् दैनिक पाँच हजार थान कपडा उत्पादन भइरहेको छ । माग बढ्दा उत्पादन क्षमता पनि बढाउने योजनामा पनि रहेको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS