काठमाण्डौ । युएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले जितका लागि १७७ रनको लक्ष्य पाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १७६ रनको योगफल बनायो ।
युएईका लागि आयन अफजल खानले अविजित रहँदै ५४ रनको अर्धशतकीय पारी खेले । हजरत विलालले अविजित २० रन बनाए ।
यस्तै अलिशन शराफुले ३३ रन बनाए भने रोहन मुस्तफाले २४ तथा मुहमद वासिमले ११ रन बनाए । नेपालका गुलशन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले २/२ विकेट लिए । त्यस्तै सोमपाल कामी र ललित राजवंशीले १र१ विकेट लिए ।
नेपाल र युएईबीचको यस खेल निर्णायक खेलको रुपमा छ । तीन खेलको सिरिजअन्तर्गत नेपाल र युएईबीच १–१ को बराबरीमा रहेको छ । सिरिजको पहिलो खेलमा युएईले नेपाललाई ८४ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपालले युएईलाई ३ विकेटले हराएको थियो ।
FACEBOOK COMMENTS