काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तारागाँउ रिजेन्सी होटेल्स लिमिटेडको शेयर कारोबार आज मंगलबारदेखि फुकुवा गरेको छ ।
कम्पनीले धितोपत्र मूल्य संवेदनशील निर्णय समयमै जानकारी नगराएको भन्दै नेप्सेले हिजो सोमबार शेयर कारोबार रोक्का गरेको थियो ।
कारोबार रोक्का गर्नाका साथै नेप्सेले तीन दिनभित्रमा स्पष्टीकरण पेश गर्नसमेत कम्पनीलाई निर्देशन दिएको थियो । तारागाउँले मानवीय त्रुटीका कारण समयमै सूचना प्रशारण गर्न नसकेको स्पष्टीकरण पेश गर्दै आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिबद्धतापछि आज शेयर कारोबार खुला गरिएको नेप्सेले जनाएको छ ।
कम्पनीले मंसिर १६ गते सञ्चालक समितिको बैठक बसेर गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । तर, सो निर्णय मंसिर १७ गते बेलुका ५:१५ बजे मात्र जानकारी गराएपछि नेप्सेले स्पष्टीकरण सोधेको थियो ।
FACEBOOK COMMENTS