काठमाडौं । त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
दिउँसो १२ बजेर ३७ मिनेट जाँदाको अवस्थासम्म कम्पनीको शेयर १० प्रतिशतले वृद्धि भइ प्रतिकित्ता २९४ रुपैयाँ ८० पैसामा कारोबार भइरहेको छ । कम्पनीको शेयरमा आज प्रतिकित्ता २६ रुपैयाँ ८० पैसाले वृद्धि आएको हो ।
यो कम्पनीको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आजैदेखि कारोबार सुरू भएको हो । स्पेसल प्रि–ओपनिङ सेसनमा त्रिशूलीको पहिलो कारोबार प्रतिकित्ता २६८ रुपैयाँमा खुला भएको थियो ।
नेप्सेले यसको पहिलो कारोबारका लागि प्रतिकित्ता ८९ रुपैयाँ ३८ पैसादेखि २६८ रुपैयाँ १४ पैसासम्म ओपनिङ रेन्ज तोकेको थियो । उक्त रेन्जको अधिकतम विन्दुबाट कारोबार सुरू भएको हो । त्रिशूलीको चुक्ता पुँजीका आधारमा कायम भएको १ करोड ८५ लाख २५ हजार कित्ता सेयर गत साता सूचीकृत भएको थियो ।
यसैबीच, यो समाचार तयार पार्दासम्म हाथवे इन्भेष्टमेन्ट कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, माण्डु हाइड्रोपावर र युनियन हाइड्रोपावरको शेयर मूल्य बढेको छ ।
यस्तै, उक्त समयावधिमा ग्लोबल आईएमई बैंकको शेयर मूल्यमा सबैभन्दा धेरै ७ दशमलव ६९ प्रतिशतले गिरावट आएको छ । यस्तै, मन्दाकिनी हाइड्रो, सिद्धार्थ इक्वीटी फण्ड, नारायणी डेभलपमेन्ट बैंक, विजय लघुवित्तको शेयर मूल्य घटेको छ ।
FACEBOOK COMMENTS