काठमाडौं । एक वर्षको अवधिमा नेप्से परिसूचक ५९ दशमलव १७ अङ्कले घटेको छ ।
आज नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय स्थिति अनुसार नेप्से सूचकाङ्क घटेको हो ।
२०७९ कात्तिक मसान्तमा १ हजार ९११ दशमलव २६ विन्दुमा रहेको नेप्से सूचकाङ्क २०८० कात्तिक मसान्तसम्म आउँदा ५९ दशमलव १७ अङ्कले घटेर १ हजार ८५२ दशमलव ०९ विन्दु कायम भएको छ ।
यस्तै, समीक्षा अवधिमा बजार पुँजीकरण भने केही बढेको छ । २०८० कात्तिक मसान्तमा धितोपत्र बजार पुँजीकरण रू. २ हजार ८५३ अर्ब १ करोड कायम भएको छ । यसअघि २०७९ कात्तिक मसान्तमा बजार पुँजीकरण रू. २ हजार ७५२ अर्ब २४ करोड रहेको थियो ।
यसैगरी, २०८० कात्तिक मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २६४ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ८७ जलविद्युत् कम्पनी, २१ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटेल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ४ अन्य समूहका रहेका छन् । २०७९ कात्तिकमा सूचीकृत कम्पनीहरूको संख्या २४५ रहेको थियो ।
यस्तै, सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ६३.२ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १२.६ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.१ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.२ प्रतिशत, होटेलको हिस्सा ३.२ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.२ प्रतिशत रहेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८० कात्तिक मसान्तमा सूचीकृत ७ अर्ब ८८ करोड शेयर संख्याको चुक्ता मूल्य रू. ७८१ अर्ब ३८ करोड रहेको छ । आर्थिक वर्ष २०८०/८१ को चार महिनामा रु ३६ अर्ब १० करोड बराबरको साधारण शेयर रू.३ अर्ब ८४ करोड बराबरको हकप्रद शेयर र रू. २ अर्ब ५४ करोड बराबरको बोनस शेयर गरी कुल रू. ४२ अर्ब ४८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रू. ८ अर्ब ५१ करोड बराबरको साधारण शेयर रू. ३ अर्ब २० करोड बराबरको डिबेन्चर, रू. २ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड र रू. १ अर्ब १० करोड बराबरको हकप्रद शेयर गरी कुल रू.१५ अर्ब ३१ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
FACEBOOK COMMENTS