काठमाडौं । साताको तेस्रो कारोबार दिन आज मंगलबार शेयर बजारमा उत्साहजन वृद्धि आएको छ ।
नेपाल धितोपत्र बोर्डका अनुसार आज २५ दशमलव ९३ अङ्कले बढेर नेप्से परिसूचक दुई हजार ६ दशमलव २८ विन्दुमा उक्लिएको छ ।
यस दिन ३२० धितोपत्रको एक करोड १८ लाख ३८ हजार १५० कित्ता शेयर ७५ हजार २७१ पटक खरिदबिक्री हुँदा चार अर्ब ८० करोड ४४ हजार ६०१ रुपैयाँ ६६ पैसा बराबरको शेयर कारोबार भएको छ ।
आज नेप्से इन्डेक्सका साथै सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्समा १.३०% देखि १.८९% सम्मले वृद्धि आएको छ । यस्तै, १३ वटा उपसूचकहरूमध्ये फाइनान्सबाहेक सबै उपसूचकहरूमा हरियाली छाएको छ । फाइनान्स उपसूचक भने १.१८ प्रतिशतले घटेको छ ।
अघिल्लो कारोबार दिन सोमबार ० दशमलव ०७ अङ्कले बढेर नेप्से परिसूचक एक हजार ९८० दशमलव ३४ विन्दुमा रोकिएको थियो भने दुई अर्ब ९५ करोड ९४ लाख ५८ हजार ५०१ रुपैयाँ ४३ पैसा बराबरको शेयर कारोबार भएको थियो ।
कारोबारमा आएका धितोपत्रमध्ये कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । १० प्रतिशतले वृद्धि भएको बैंकको शेयर मूल्यमा आज प्रतिकित्ता ४४ रुपैयाँ २० पैसा बढेको छ । यस्तै, इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा ९.९९ प्रतिशतले वृद्धि हुँदा प्रतिकित्ता ९८ रुपैयाँले बढेको हो ।
FACEBOOK COMMENTS