काठमाडौं । शेयर बजारमा आज ३५ अङ्कको पहिरो गएको छ ।
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा र आगामी आर्थिक वर्षको बजेटपछि बजारले सकारात्मक लय समाउने आशामा रहेका आम लगानीकर्तालाई निराश बनाउँदै आज शेयर बजारमा ३५ दशमलव ०७ अङ्कको गिरावट आएको हो ।
कुल ३१५ कम्पनीको एक करोड ५५ लाख ३८ हजार ४७४ कित्ता शेयर ७५ हजार ५०८ पटक खरिद बिक्री हुँदा आज जम्मा ६ अर्ब ६७ करोड ९५ लाख ६१ हजार रुपैयाँको कारोबार भएको छ ।
आज नेप्सेसहित सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स ऋणात्मक छन् भने १३ वटै उपसूचकहरू राताम्मे भएका छन् ।
सबैभन्दा धेरै बैङ्किङ समूह दुई दशमलव ३४ र होटल तथा पर्यटन समूह दुई दशमलव १२ प्रतिशतले घटेको छ । त्यस्तै, विकास बैङ्क एक दशमलव १४, वित्त शून्य दशमलव ८३, जलविद्युत् शून्य दशमलव ९६, लगानी एक दशमलव २९ र जीवन बिमा समूह शून्य दशमलव ७४ प्रतिशतले घटेको छ ।
यसैगरी, उत्पादन तथा प्रशोधन शून्य दशमलव ०१, लघुवित्त एक दशमलव २७, म्युचल फन्ड शून्य दशमलव ०१, निर्जीवन बिमा शून्य दशमलव ६८, व्यापार एक दशमलव ३७ र अन्य समूह शून्य दशमलव ९८ प्रतिशतले घटेको छ ।
आजको कारोबारमा प्युअर इनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने सप्तकोशी डेभलपमेन्ट बैङ्क लिमिटेडका शेयर मूल्य चार दशमलव ३८ प्रतिशतले घटेको छ ।
FACEBOOK COMMENTS