काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्सेमा पहिलो सकारात्मक सर्किट लागेको छ ।
बजार खुलेको ३ मिनेटमा नै नेप्से ४ प्रतिशत बढेपछि सर्किट लागेर २० मिनेटका लागि कारोबार स्थगित भएको हो ।
राष्ट्र बैंकले व्यक्तिगत शेयर धितो कर्जाको सीमा २५ करोड हटाएपछि यसको प्रभाव बजारमा देखिएको हो । बुधबार बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन सशोधन जारी गर्दै उक्त सीमा हटाइएको हो ।
अब व्यक्तिले पनि बैंक तथा वित्तीय संस्थाहरुबाट जति पनि सेयर धितो कर्जा पाउन सक्नेछन् । यसअघि कुनै एक वा सबै इजाजतपत्र प्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा २५ करोड कायम गरिएको थियो ।
यस्तै, राष्ट्र बैंकले खरिद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने व्यवस्था पनि हटाएको छ ।
किन लाग्छ सर्किट ?
बजारमा सकारात्मक प्रभाव पर्दा पोजेटिभ र नकारात्मक प्रभाव पर्दा नेगेटिभ सर्किट ब्रेक लाग्ने गर्दछ । शेयर बजार आफैंमा अस्थिर हुन्छ । यसको प्रवृत्ति नै गतिशील हुने भएकाले यो कहिलेकाहीँ एकोहोरो बढिरहने वा घटिरहने क्रममा अघि बढ्छ ।
यस्तो अवस्थामा बजार अस्वाभाविक हुन पुग्दछ । जसले गर्दा लगानीकर्तालाई धेरै नाफा वा घाटा हुने सम्भावना हुन्छ । त्यसैले, लगानीकर्तालाई एकैपटकमा धेरै फाइदा वा घाटा नपुगोस् भनेर सम्बन्धित नियामक निकायले निश्चित प्रतिशतको घटबढपछि कारोबार स्थगन गर्ने कानुनी व्यवस्था गरेको हुन्छ । जसलाई सर्किट ब्रेकर (सर्किट ब्रेक) भन्ने गरिन्छ । यो सकारात्मक (पोजेटिभ) र नकारात्मक (नेगेटिभ) दुवै किसिमको हुने गर्दछ ।
के–के छन् व्यवस्था ?
अन्तर्राष्ट्रिय अभ्यास र बजारको आवश्यकता अनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले २०७५ चैत १९ देखि शेयर बजारमा सर्किटसम्बन्धी नयाँ व्यवस्था लागू गरेको थियो । जस अनुसार एक कारोबार दिनमा तीन पटकसम्म सर्किट ब्रेक लगाइने व्यवस्था गरिएको छ ।
यस व्यवस्था अनुसार कारोबार दिनमा बजार खुलेको पहिलो १ घण्टा (११ देखि १२ बजेसम्म) भित्र नेप्से परिसूचक ४ प्रतिशतले घट्यो वा बढ्यो भने भने पहिलो सर्किट ब्रेक लाग्दछ । पहिलो सर्किटपछि २० मिनेटका लागि कारोबार स्थगन गरिन्छ । जसलाई प्राविधिक भाषामा ‘मार्केट हल्ट’ भनिन्छ । जसले मार्केटलाई कुलडाउन गराउनमा सहयोग पुग्छ भन्ने मान्यता राखिएको हुन्छ ।
यसैगरी, दोस्रो घण्टाभित्र (१२ देखि १ बजेसम्म) वा पहिलो सर्किट ब्रेकर पुन: कारोबार सुरू भएपछि नेप्से परिसूचक ५ प्रतिशतले बढे वा घटे दोस्रो सर्किट ब्रेक लाग्छ । दोस्रो सर्किट लागेपछि कारोबार ४० मिनेटका लागि बन्द हुन्छ ।
दोस्रो सर्किटपछि पनि सूचक एकोहोरो घट्ने वा बढ्ने क्रम निरन्तर रह्यो भने सो दिनका लागि तेस्रो पटक सर्किट लगाई कारोबार पूर्ण बन्द गरिन्छ । अर्थात् दोस्रो सर्किटपछि काराबार सुरू भएको वा बजार खुलेको तेस्रो घण्टाभित्र (१ देखि ३ बजेसम्मको बीचमा) नेप्से परिसूचक ६ प्रतिशतले घट्यो/बढ्यो भने तेस्रो सर्किट ब्रेक लाग्छ । तेस्रो सर्किट ब्रेक लागेपछि सो दिनको बाँकी अवधिका कारोबार पूर्ण रूपमा बन्द गरिन्छ ।
यो पनि पढ्नुहोस्–
जेन्जीले दलाल र भ्रष्टाचारीलाई बढारेपछि शेयरबजारमा नयाँ बिहानीको आशा
FACEBOOK COMMENTS