काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ । आईतवार १९ दशमलव ४२ अंक गिरावट आएको नेप्से परिसूचक सोमवार ५ दशमलव ८९ अंकले घटेर २००४ दशमलव ४५ बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स १ दशमलव ९४ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ० दशमलव ४२ अंक र सेन्सेटिभ इण्डेक्स ० दशमलव ७३ अंकले घटेको छ ।
सोमवार कारोबारमा आएका २८४ कम्पनीको ६५ लाख १६ हजार कित्ता शेयर १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आईतवारको तुलनामा सोमवार कारोबार रकममा पनि गिरावट आएको छ । आईतवार २ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो ।
नेप्सेका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घटेको छ भने दुई उपसमूहको परिसूचक बढेको छ । जसमा जलविद्युत र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ । त्यस्तै,लगानी उपसमूहको परिसूचक ० दशमलव ९५ प्रतिशत घट्दा बाँकी अन्य उपसमूहरुको परिसूचक ० दशमलव ९५ प्रतिशत भन्दा कमले गिरावट आएको छ ।
सोमवार नेप्से परिसूचकमा गिरावट आएपनि तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा माई खोला हाइड्रोपावर, एशियन हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । तर यता शुभम् पावर र थ्रीस्टार हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सोमवार सन नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
FACEBOOK COMMENTS