काठमाडौं- नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आयल निगमभित्रको बेथिति, अनियमितता र भ्रष्टाचार रहेको जनाएको छ।
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गर्दै निगमभित्र भएको अनियमितताको छानविन गर्न नेविसंघले माग गरेको छ। सञ्चित रकम र मूल्य स्थिरीकरण कोषलगायतबाट जनतालाई राहत दिनुपर्ने संघको धारणा छ।
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले महँगी बढ्नेप्रति संघले सरकारलाई सचेत गराएको छ। ‘कोभिड-१९ का कारण लामो समयदेखि अप्ठ्यारो भोगिरहेका नेपाली जनताको ढाड सेक्नेगरी कोही कसैबाट पनि भएका निर्णय हामीलाई मान्य हुने छैन,’ नेविसंघको विज्ञप्तिमा भनिएको छ।
चाडपर्वको समयमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न संघले माग गरेको छ।
प्रतिकूलतामा बसिरहेका जनतालाई राहत महसुस हुनेगरी कार्य गर्ने समय भएको उल्लेख गर्दै सरकारले हस्तक्षेप गरी तत्काल आयल निगमले गरेको मूल्यवृद्धि खारेज गर्न संघले माग गरेको छ।
FACEBOOK COMMENTS