काठमाडौं । नेपाली सेनाका विभिन्न तालिम केन्द्र तथा युनिटहरूमा सञ्चालित सैन्य आधार तालिम समापन भएको छ ।
तालिम समापनका अवसरमा आयोजित छुट्टाछुट्टै कार्यक्रमहरूमा सैन्य जवानहरूले अन्तिम दलेल कवाज प्रदर्शन गरेका थिए ।
नेपाली सेनाका तालिम केन्द्र सहित विभिन्न १९ स्थानहरूमा सञ्चालित ९ महिना अवधिको सैन्य आधार तालिम सम्पन्न गरी २,१०२ जना पुरुष तथा ३४९ जना महिला गरी कुल २,४५१ जना सैन्यहरू दीक्षित भएका छन् ।
तालिम समापनका अवसरमा आयोजित अन्तिम दलेल कवाज कार्यक्रम अन्तर्गत श्री नं.१ सैन्य तालिम केन्द्र, त्रिशूलीमा सैनिक तालिम महानिर्देशक श्री ध्रुव प्रकाश शाह लगायत विभिन्न तालिम केन्द्र, पृतना, बाहिनी तथा गण/गुल्महरूमा
सम्बन्धित पृतनापति, वाहिनीपति लगायतका ज्येष्ठ अधिकृतहरूले कवाज निरीक्षण गर्नुका साथै उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कार प्रदान गरेका थिए ।
सैन्य आधार तालिमको अन्तिम दलेल कवाजमा जिल्लास्थित जनप्रतिनिधिहरू, सरकारी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधि, नवनियुक्त सिपाहीका परिवारजन लगायत स्थानीय सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
FACEBOOK COMMENTS