काठमाडौं। स्टक ब्रोकर एशोसिएसन अफ नेपालले नयाँ ब्रोकरको लाइसेन्स दिँदा अनियमितता भएको भन्दै छानविनको माग गरेको छ।
एशोसिएसनले शुक्रबार विज्ञप्ति जारी गर्दै पटक पटक नियमावली संशोधन गरेर आर्थिक लेनदेनका आधारमा लाइसेन्स दिएको जिकिर गरेको छ।
एशोसिएसनका अध्यक्ष धर्मराज सापकोटाले राजनीतिक नेतृत्वलाई प्रभावमा पारी नयाँ ब्रोकर लाइसेन्स दिएमा ठुलो दुर्घटना निम्तिने चेतावनी दिएका छन्।
उनले अन्तर्राष्ट्रिय प्रचलनमा रहेको आधिकारिक प्रतिनिधि, आधिकारिक एजेन्ट, सब ब्रोकर, शाखारहित दलाल सेवा, शाखा विस्तार, आधुनिक प्रविधिको प्रयोगलगायतका वैकल्पिक उपायहरु अभ्यास नगरी लगानीकर्ताहरुको खर्बौ लगानी जोखिममा परेको बताए।
सूचीकृत कम्पनी, धितोपत्र बोर्ड, नेप्से, सीडीएससी, ब्रोकर कम्पनी तथा मर्चेन्ट बैंक कम्पनीका संस्थापक, संचालक, सेयरधनी, कार्यकारी प्रमुख, कर्मचारी तथा लेखापरीक्षक अर्को ब्रोकर कम्पनीका संस्थापक हुनका लागि अयोग्य हुने कानुनी व्यवस्था हुँदाहुँदै पनि बोर्डले हतार हतार किस्ताबन्दीमा नयाँ लाइसेन्सका लागि आशयपत्र दिनुले पनि आर्थिक अनियमितता भएको एसोसिएसनको जिकिर छ।

बोर्डमा भएका अनियमितताहरुबारे उल्लेख गर्दै उनीहरुले लेखेका छन्, ‘विगतमा भएको संसद, अर्थ समितिको सार्क क्षेत्रको अध्ययनसहितको बारम्बारको निर्देशन, सम्बन्धित सरोकारवालाको सुझाव, बजारको आवश्यकता, अन्तर्राष्ट्रिय प्रचलन, पूँजीबजारको आधारभूत सिद्धान्त सबैलाई तिलान्जली दिदै साहुजीहरुको प्रभावमा परी कोठे बैठकबाट नियमावली ड्राफ्ट गरी मन्त्रीपरिषद्बाट ३ दिन भित्रैमा पटक पटक नियमावली संशोधन गराउन सफल भैसकेको अवस्थाले समेत आर्थिक लेनदेन भैसकेको अनुमान लगाउन सकिन्छ ।’

सम्भावित दुर्घटनाबारे उनीहरुको भनाई छ, ‘आज नेपालको पूँजीबजार आर्थिक बेथितिको पहाड बनेको छ । विद्यमान कानूनमा रहेको जालसाझीयुक्त कारोबार तथा भित्री कारोबारहरुको अनुगमन गर्ने भरपर्दो संयन्त्र नै नबनाई संस्थागत सुशासनमा नै प्रश्नचिन्ह लागेका कम्पनीहरु तथा निजका सञ्चालक, संस्थापकबाट खुल्लमखुल्ला नियमकिय कमजोरीको फाईदा उठाई सर्वसाधारण लगानीकर्ताहरुको दोश्रो बजारमार्फत् गरिएको खर्वौको लगानी जोखिममा छ ।’

अनावश्यक विषयवस्तुको उठान गरी राजनैतिक नेतृत्वलाई प्रभावमा पारी बितरण गर्न लागिएको दलाल व्यवसायीको लाईसेन्सले भविष्यमा पूँजी बजारमा ठूलो दुर्घटना हुने निश्चित रहेको निष्कर्षमा ब्रोकरहरु पुगेका छन् ।