मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट दिएको राजीनामा प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले स्वीकृत गरेसँगै प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणका लागि राजनीतिक दलहरूलाई दबाब बढेको छ ।
प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले शनिबार मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत गरेका हुन् । नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम यादवले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका थिए ।

राजीनामा स्वीकृत गरेलगत्तै प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई आह्वान गरेको छ ।
प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रदेशसभामा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यले ४ मंसिर शुक्रबार अपराह्न ४ बजेसम्म मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्नुपर्नेछ ।

यससँगै मधेश प्रदेशमा अब कुन दल वा गठबन्धनको नेतृत्वमा नयाँ सरकार बन्ने भन्ने चासो बढेको छ । मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई निरन्तरता दिने प्रयास असफल भएपछि सत्ता समीकरणको केन्द्रमा नयाँ गठबन्धन निर्माणको विषय आएको छ ।

प्रदेशसभामा कुनै एक दलको स्पष्ट बहुमत नरहेको अवस्थामा नयाँ सरकार गठनका लागि दलहरूबीच सहकार्य र समर्थन जुटाउनु अनिवार्य हुनेछ । प्रदेश प्रमुखले दिएको समयसीमाभित्र बहुमतसहित दाबी पेस गर्न सक्ने पक्षले सरकार गठनको अवसर पाउनेछ ।

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दिए राजीनामा