काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । सत्ता गठबन्धनमा भागबन्डाको टुंगो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेका हुन् । सोमबार सहमति जुटेपछि नयाँ मन्त्रीहरुलाई आज दिउँसो १ बजे सपथ गराउने तयारी गरिएको छ ।
सत्ता साझेदार दलको सोमबार राति सम्पन्न बैठकले मन्त्रालयको भागबण्डाको टुंगो लगाएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याएको गृहमन्त्री रवि लामिछानेले बताए । भागबण्डा टुंगिएसँगै आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको र मन्त्रीहरुको शपथ दिउँसो १ बजे गर्ने उनको भनाइ छ ।
स्रोतका अनुसार सत्तारुढ दलहरुले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखसहित मन्त्रालय भागवण्डा टुंगो लगाएका हुन् । उच्चस्तरीय संयन्त्रको बैठकले मन्त्रालयहरुको भागवण्डा गर्दा एमालेले ८, माओवादीले ४, रास्वपा र राप्रपाले ३र३ र जनमत पार्टीले एक मन्त्रालय पाउनेछन् भने जसपालाई २ मन्त्रालय छुट्याइएको छ ।
एमाले अर्थ, परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय पाउने भएको छ । माओवादीले भौतिक पूर्वाधार, सञ्चार, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन पाउने भएको छ । रास्वपाले गृह, शिक्षा र श्रम तथा राप्रपाले उर्जा, खानेपानी र युवा तथा खेलकुद अनी जनमत पार्टीले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएका हुन् ।
जसपालाई शहरी विकाससहित दुई मन्त्रालय छुट्याइएको छ । तीन राज्यमन्त्रीमा माओवादी, रास्वपा र राप्रपाले एकएक जना पठाउने भएका छन् । सपथ ग्रहरणको समसम्म पुग्दा यो सूची परिवर्तन पनि हुन सक्ने बताइएको छ ।
FACEBOOK COMMENTS