काठमाडौँ । अमेरिकाको न्यूयोर्क सहरका मेयर जोहरान ममदानीले ह्वाइट हाउस भ्रमणका क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका छन् ।
भेटका क्रममा सहरमा ठूलो स्तरको आवास निर्माण लगानीबारे छलफल गर्न मेयर ममदानीले राष्ट्रपतिलाई प्रतीकात्मक रूपमा तयार पारिएको नक्कली पत्रिकाको पहिलो पृष्ठ उपहार दिएका थिए ।
मेयरको टोलीले नयाँ संघीय आवास लगानी भएपछि सम्भावित जनप्रतिक्रिया कस्तो हुन सक्छ भन्ने देखाउन उक्त पत्रिकाको आवरण तयार पारेको बताइएको छ । नक्कली पत्रिकाको मुख्य शीर्षकमा ’ट्रम्पले सहरलाई भने– अब निर्माण गरौं’ भन्ने सन्देश राखिएको थियो, जुन सन् १९७५ मा प्रकाशित चर्चित पत्रिकाको शीर्षकलाई व्यंग्यात्मक रूपमा प्रस्तुत गरिएको हो ।
मेयर ममदानीले राष्ट्रपतिसँगको भेटको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । मेयरका सञ्चार निर्देशक अन्ना बहरका अनुसार राष्ट्रपति ट्रम्प प्रस्तावित आवास योजनाप्रति सकारात्मक देखिएका थिए ।
प्रस्तावअनुसार क्वीन्स क्षेत्रको सनसाइड रेल यार्डमाथि संरचना निर्माण गरी संघीय सहयोगबाट करिब २१ अर्ब अमेरिकी डलर लगानीमा १२ हजार किफायती आवास निर्माण गर्ने योजना रहेको छ ।
मेयर कार्यालयले यस परियोजनाबाट करिब ३० हजार रोजगारी सिर्जना हुने र पछिल्लो ५० वर्षयताकै सबैभन्दा ठूलो आवास तथा पूर्वाधार लगानी हुने अनुमान गरेको छ । गत नोभेम्बरमा भएको अघिल्लो भेटमा राष्ट्रपति ट्रम्पले न्यूयोर्क सहरमा ठूला निर्माण परियोजना अघि बढाउने प्रस्तावसहित पुन: आउन मेयर ममदानीलाई प्रोत्साहित गरेको जनाइएको छ ।

FACEBOOK COMMENTS