काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- बहादुरसिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्ने कुनै अवस्था नरहेको दोहोराएका छन् । संसदीय दलको नेतामा पराजित भएपछि प्रतिक्रिया दिदै मुख्यमन्त्री लामाले संबिधानमै दुई बर्षसम्म सरकार परिवर्तन गर्न नपाइने व्यवस्था रहेको बताउदै अहिले राजीनामा दिनुपर्ने कारण नरहेको बताए । मुख्यमन्त्री लामाले एकल सरकार भएको अवस्थामा संसदीय दलको नेता हुनुपर्ने जिकिर गर्दै संबिधानमा लेखेको अनुसार हुने बताए । बुधबार भएको निर्वाचनमा मुख्यमन्त्री बहादुरसिंह लामालाई पराजित गर्दै इन्द्रबहादुर बानियाँ संसदीय दलको नेता बनेका छन् । बानियाँले २२ मत प्राप्त गरेका छन् भने लामाको पक्षमा १४ मत परेको छ । त्यस्तै एक मत बदर भएको थियो ।
२- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बर्दिया जिल्ला सभापति विपिन पौडेलको असामयिक निधन भएको छ । व्यक्तिगत भ्रमणका क्रममा सिंगापुरमा रहेका पौडेलको गए राति हृदयघातबाट निधन भएको छ । पौडेलको पार्थिव शरीरलाई नेपाल ल्याउने पहल भइरहेको बताइएको छ । रास्वपाले पौडेलको निधनले सम्पूर्ण पार्टी परिवार स्तब्ध र मर्माहत भएको जनाएको छ ।
३- राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेका हुन् ।
४- इन्द्रबहादुर बानियाँ नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको नेता निर्वाचित भएका छन् । बुधबार भएको निर्वाचनमा बानियाँले मुख्यमन्त्री बहादुरसिंह लामालाई पराजित गर्दै संसदीय दलको नेता बनेका हुन् । बानियाँले २२ मत प्राप्त गरेका छन् भने लामाको पक्षमा १४ मत परेको छ । त्यस्तै एक मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
५- एएफसी यू-२० महिला एसियन कप क्वालिफायर्सको लागि भोलि त्यसतर्फ प्रस्थान गर्ने नेपाली राष्ट्रिय यू -२० महिला फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघले दशरथ रंगशालामा बिदाई गरेको छ । प्रतियोगिताको समूह ‘ए’मा नेपाल भुटान साउदी अरेबिया र उत्तर कोरियासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता भुटानमा यही अगस्ट ६ देखि १० सम्म हुने तालिका रहेको छ ।नेपालले पहिलो खेल भुटानसँग अगस्त ६ मा खेल्ने छ भने दोस्रो खेल साउदी अरेबियासँग अगस्त ८ मा र तेस्रो खेल अगस्त १० मा उत्तर कोरियासँग खेल्ने तालिका रहेको छ ।
६- अर्थ मन्त्रालयले बजेट अनुशासन सुदृढ गर्न कानुन निर्माणका लागि कार्यदल गठन गरेको छ । कार्यदलमा अर्थ मन्त्रालय वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख महेश बराल संयोजक रहेका छन् । सदस्यहरुमा अर्थ मन्त्रालयका बजेट महाशाखाका उपचिव, अर्थ मन्त्रालय कानून तथा फैसला महाशाखाका उपसचिव र विषय विज्ञमा पूर्व सहसचिव निर्मलहरी अधिकारी रहेका छन् । कार्यदलको सदस्य सचिवमा वित्तीय संघीयता महाशाखाका उपसचिव रहेका छन् ।
७- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथिको छलफलपछि सम्बोधन गरेका छन् । प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र संघले सन् २०१५, २०१८ र २०२१ मा गरेको मूल्याङ्कनमा नेपालको मानव सम्पत्ति सूचकांक आर्थिक तथा वातावरणीय जोखिम सूचकांकमा नेपालले प्रगति गरेको पाइएको उल्लेख गरेका छन् । साथै प्रधानमन्त्री ओलीले नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुदा अन्तर्राष्ट्रिय छवी उँचा हुने र नेपाल आत्मनिर्भर हुने दिशातर्फ अघि बढेको संकेत भएको उल्लेख गर्दै नेपालको कन्ट्री रेटिंगको सूचांक पनि बलियो बन्ने र लगानीको लागि थप वातावरण तयार हुने बताए ।
८- नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले रञ्जिता श्रेष्ठलाई अध्यक्ष पदबाट हटाएको जानकारी निर्वाचन आयोगलाई गराएको छ । अध्यक्ष श्रेष्ठले विधान विपरीत कार्यवाहक अध्यक्ष तोकेको कारण देखाउदै उनलाई अध्यक्ष पदबाट हटाइएको बताइएको छ । पोखराको लिचीबारी घुस प्रकरणमा मुछिएकी श्रेष्ठले पोखराकै शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएपछि बहुमत केन्द्रीय सदस्य असन्तुष्ट बनेका थिए । त्यसपछि नाउपाको रामलाल डगौराको नेतृत्वमा सुनिता चौधरी र पुण्य बुढा सदस्य रहेको अनुशासन समितिले श्रेष्ठलाई २४ घण्टा भित्र स्पष्टीकरण सोधेको थियो । रञ्जिताले तोकिएको समयमा स्पष्टीकरण नदिएपछि उनलाई अध्यक्ष पदबाट हटाइएको जानकारी नाउपाले आयोगलाई मंगलबार नै दिएको बताएको छ । रञ्जितालाई पार्टी अध्यक्षबाट हटाएउने अनुशासन समितिको कारबाहीको निर्णय आज बसिरहेको नाउपाको राष्ट्रिय भेलाले अनुमोदन गर्ने बताइएको छ ।
९- सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का वडाध्यक्षसहितको टोलीले पोखरा पुगेर उर्मिला हायुको परिवारलाई भेट गरेको छ । बुधबार वडा अध्यक्ष सहितको टोलीले हायु परिवारलाई भेट गरेर सिन्धुली फर्किन आग्रह गरेको अध्यक्ष रविन्द्र श्रेष्ठले जानकारी दिएका छन् । वडा अध्यक्षसहितको टोलीले पोखरा जस्तो महँगो ठाउमा बस्न गाह्रो हुने भन्दै स्थानीय र संघीय सांसदले समेत सहयोग गर्ने भएकाले फर्किन आग्रह गरको बताएका छन् । गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिक भण्डास विप्पर कटेरीबाट ६ दिनअघि घर अलपत्र छोडेर हायु परिवार पोखरा पुगेको थियो । हायु परिवार सोमबार राति मात्र पोखराको गगनगौडामा डेरा गरि बसेको अवस्थामा भेटिएको थियो ।
१०- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज भैरहवामा&न्ब्स्प्; भएको छ । प्रवक्ता मनिष झाका अनुसार संसदीय दलको बैठक भैरहवाको रमादा होटलमा शुरु भएको हो । रास्वपाले आगामी कार्तिकमा हुने रुपन्देही -३ को उपनिर्वाचनलाई ध्यानमा राख्दै भैरहवामा नै संसदीय दलको बैठक बसेको छ। यस अघि रास्वपाका सांसदहरुले सामुहिक रुपमा भैरहवा कारागारमा रहेका सभापति रवि लामिछानेलाई भेट गर्न खोजेपनि कारागार प्रशासनले नदिएपछि कार्यवाहक सभापति डिपी अर्याल र सोबिता गौतमले मात्र भेट गरेको बताइएको छ ।
११- बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले तीन मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री लामाले बुधबार गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका हुन् । लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने माया श्रेष्ठ र गीता गुरूङको जिम्मेवारी तोकिएको छैन । बागमतीमा काँग्रेसका पाँच मन्त्रीले लामाविरुद्धको अविश्वास प्रस्तावलाई समर्थन गर्दै राजीनामा दिएका थिए ।पार्टी संसदीय दलमा विश्वास गुमाएका लामाले गठबन्धन सरकारमा मुख्यमन्त्री हुन संसदीय दलको नेता हुन आवश्यक नरहेको तर्क गर्दै अविश्वास प्रस्ताव पारित भएपछि राजीनामा दिन अस्वीकार गरेका छन् ।
१२- नेप्से परिसूचकमा ठुलो गिरावट आएको छ । नेप्से बुधबार ४७।९३ अंकले घटेर आज २९५४।१४ विन्दुमा पुगेको हो । आजको कारोबारमा विभिन्न ३२७ कम्पनीका ३ करोड ६४ लाख १७ हजार ७४२ कित्ता शेयर १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार ४०८ मा किनबेच भएको नेप्सेले जनाएको छ ।नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको १४ सयले बढेर तोलाको एक लाख ९४ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको एक लाख ९३ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले बढेर २३१० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको २३०० मा कारोबार भएको थियो ।
१३- भोटेकोशी नदीमा फेरी बाढी आएको छ । भोटेकोशीमा बाढी आएपछि रसुवामा उच्च सतर्कता अपनाइएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाले बुधबार विहान २ बजेबाट नै सूचना दिएर नदी आसपास रहने स्थानीयलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । रसुवा जिल्ला भई बहने भोटेकोशी नदी, त्रिशुली नदी, लाङटाङ खोला, चिलिमे खोला र यस जिल्लामा अवस्थित अन्य नदी खोला आसपासका क्षेत्रमा जोखिम बढेको छ । यस अघि असर २४ गते आएको बाढीले मितेरी पुल बगाएको थियो भने ठुलो मानवीय भौतिक क्षति भएको थियो ।
१४- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालय अन्तर्गतका कार्यालयहरुको आर्थिक व्यवस्थापनलाई पारदर्शी तथा व्यवस्थित बनाउन कार्यविधि जारी गरेका छन् । कार्यविधिले मन्त्रालय तथा अन्र्तगतका कार्यालयहरुको आर्थिक कारोबार तथा वित्तिय व्यवस्थापनलाई नियमअनुसार थप स्पष्ट तथा थप व्यवस्थित गर्नें अपेक्षा गरिएको छ । साथै मन्त्रालयमा आर्थिक मितव्ययीता तथा प्रणालीगत अनुशासनलाई कार्यविधिले थप व्यवस्थित गर्ने अपेक्षा गरिएको छ । बजेट तर्जुमा, रकमान्तर प्रक्रिया, खर्च नियन्त्रण, बेरुजु व्यवस्थापन, अन्र्तसम्बन्ध तथा पारदर्शीता जस्ता विषयलाई कार्यविधिले समेटेको मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले बताए । यस कार्यविधिले मन्त्रालयको आन्तरिक कार्यसम्पादन तथा अभिलेख प्रक्रियालाई प्रभावकारी बनाउने र कर्मचारीहरुलाई यसमा थप जिम्मेवार बनाउने समेत लक्ष्य राखेको छ ।
१५- गृहमन्त्री रमेश लेखकले नेपाल हज समितिको अध्यक्ष पदमा सिराहा जिल्लाको कल्याणपुर नगरपालिका–१२ का मोख्तार अहमदलाई नियुक्त गरेका छन् । मन्त्री स्तरको निर्णयबाट सिराहका महमदलाई अध्यक्ष नियुक्त गरिएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालय अन्र्तगत रहने हज समितिको सदस्यहरुको नियुक्त प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।
१६- २०२६ को मार्चमा अस्ट्रेलियामा हुने एएफसी महिला एशिया कप फुटबलको ड्र गरिएको छ । यस प्रतियोगितामा १२ देशले भाग लिदैछन् । दक्षिण एशियाबाट भारत र बंगलादेश यस एशिया कपका लागि छनौट भएका छन् । एशिया कपको समुह ए मा आयोजक अस्ट्रेलियासहित दक्षिण कोरिया, इरान र फिलिपिन्स रहेका छन् भने समुह बी मा उत्तर कोरिया, चीन, बंगलादेश र उज्बेकिस्तान रहेका छन् । त्यसैगरी समुह सी मा जापान, भियतनाम, भारत र चाइनिज ताइपेइ रहेका छन् । यो प्रतियोगिता २०२६ को मार्च १ देखि २१ सम्म अस्ट्रेलियामा हुने छ ।
१७- कोलम्बियाका लेफ्ट विंगर लुइस डियाजले बायर्न म्युनिखसँग चार बर्षको सम्झौता गरेका छन् । डियाजले लिभरपुल छोडेर जर्मनी च्याम्पियन बायर्न म्युनिख गएका हुन् । बायर्न म्युनिखले डियाजसँग २०२९ को जुन ३० सम्मका लागि सम्झौता गरेको जानकारी दिएको छ । बायर्न म्युनिखमा डियाजले १४ नम्बरको जर्सी लगाउने भएका छन् । बायर्नले डियाजलाई लिभरपुलबाट ७५ मिलियन युरोमा किन्न सहमत भएको बताइएको छ ।
१८- रूसको दुर्गम सुदूर पूर्वी तटमा गएको ८।८ म्याग्निच्युडको शक्तिशाली भूकम्प अहिलेसम्मकै छैटौं सबैभन्दा शक्तिशाली भूकम्प रहेको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार अहिलेसम्मको सबैभन्दा शक्तिशाली भूकम्प १९६० मा चिलीमा गएको थियो । ९।५ रेक्टर स्केलको यस भूकम्पमा १६५५ जनाको मृत्यु भएको थियो भने २० लाख भन्दा बढीले आफ्नो घर गुमाएका थिए । त्यसपछि दोस्रो ठुलो भूकम्प १९६४ मा अमेरिकाको अलास्कामा आएको थियो । ९।२ रेक्टर स्केलको यस भूकम्पमा १३० जनाको ज्यान गएको थियो भने २।३ बिलियन डलरको नोक्सानी भएको थियो । त्यसैगरी २००४ मा इन्डोनेसियामा आएको भूकम्पलाई अहिलेसम्मकै तेस्रो शक्तिशाली भूकम्प मानिएको छ । ९।१ रेक्टर स्केलको यस भूकम्पमा २ लाखभन्दा बढीको मृत्यु भएको थियो भने ११ लाख भन्दा बढी विस्थापित भएका थिए । त्यस्तै २०११ मा जापानमा आएको भूकम्पलाई अहिलेसम्मकै चौथो शक्तिशाली भूकम्प मानिएको छ । ९।१ रेक्टर स्केलको यो भूकम्पले १५ हजार भन्दा बढीको ज्यान लिएको थियो भने लाखौ विस्थापित भएका थिए । त्यस्तै १९५२ मा आज आएको स्थान रुसको पूर्वी तटमा रहेको कामचट्कामै आएको ९ रेक्टर स्केलको भूकम्पलाई पाँचौं शक्तिशाली भूकम्प मानिएको छ । यसले अमेरिकाको हवाईमा ठूलो सुनामी ल्यायो, जसले गर्दा १० लाख डलरभन्दा बढीको क्षति भएको थियो ।
१९- बेलायतले प्यालेस्टाइनलाई एक देशको रूपमा मान्यता दिने भएको छ । बेलायती प्रधानमन्त्री केयर स्टारमरले सेप्टेम्बरमा हुने संयुक्त राष्ट्र संघको महासभाको बैठकमा प्यालेस्टाइनलाई एक देशको रूपमा मान्यता दिने बताएका छन् । क्याबिनेट नोटको बारेमा जानकारी दिँदै स्टारमरले बेलायतले इजरायली सरकारले गाजामा रहेको भयानक अवस्था अन्त्य गर्न ठोस कदम चालेन भने प्यालेस्टाइनलाई मान्यता दिने बताएका छन् ।
२०- विदेशीहरूले पनि अब साउदी अरबमा सम्पत्ति किन्न सक्ने भएका छन् । साउदी अरेबियाले अब यहाँ खरिद गरिएको घरजग्गामा विदेशीहरूले स्वामित्व अधिकार पाउने नयाँ कानुन ल्याएको हो । यो कानून शुक्रबार, जुलाई २५ मा ‘उम्म अल-कुरा गजट’ मा प्रकाशित भएको थियो । अब यो १८० दिन भित्र लागू हुनेछ । यो कानूनलाई साउदी अरबको नीतिमा ठूलो परिवर्तनको रूपमा वर्णन गरिएको छ । यस महिनाको सुरुमा, साउदी अरबको मन्त्रिपरिषद्ले यो कानूनलाई अनुमोदन गरेको थियो । यस अन्तर्गत, विदेशी व्यक्ति, कम्पनीहरू, गैर-नाफामुखी संस्थाहरू र लगानी संस्थाहरूलाई देशको तोकिएका क्षेत्रहरूमा सम्पत्ति किन्न वा राख्न अनुमति दिइएको छ ।
FACEBOOK COMMENTS