काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१– महानायक राजेश हमालले कुनै पनि राष्ट्रका कानुन, नीति र विकासको मोडल त्यस देशको आफ्नै आर्थिक, सामाजिक तथा सांस्कृतिक यथार्थअनुसार निर्माण हुनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले एउटै बिरामीको परीक्षणका आधारमा अर्को बिरामीको उपचार गर्न नमिल्ने उदाहरण दिँदै एक देशमा सफल भएको प्रणाली अर्को देशमा जस्ताको तस्तै लागू गर्दा अपेक्षित परिणाम नआउने उल्लेख गरेका छन् ।
उनका अनुसार कुनै पनि राष्ट्रको आफ्नै इतिहास, क्षमता, चुनौती र आकांक्षा हुने भएकाले अन्य देशका सफल नीति तथा प्रणालीलाई अन्धानुकरण गरेर लागू गर्नु उपयुक्त हुँदैन। आवश्यक पूर्वाधार र संस्थागत क्षमता नहुँदा एउटा परिवेशमा सफल भएको नीति अर्को परिवेशमा असफल हुन सक्ने उनको भनाइ छ ।
हमालले देशका नियम, कानुन र नीतिहरू पूर्वाधार, संस्थागत क्षमता तथा नागरिकको जीवनस्तरसँग मेल खाने गरी निर्माण गरिनुपर्नेमा जोड दिएका छन् । उनले दिगो प्रगति अन्धानुकरणबाट सम्भव नहुने उल्लेख गर्दै असल सिद्धान्तलाई राष्ट्रिय यथार्थअनुसार आत्मसात् गरी देशको आवश्यकता र परिस्थितिअनुसार सुधार लागू गर्न सके मात्र वास्तविक विकास सम्भव हुने बताएका छन् ।
२– दक्षिण अफ्रिकाका राष्ट्रिय फुटबल टोली तथा मामेलोडी सन्डाउन्सका मिडफिल्डर जेडन एडम्सको २५ वर्षको उमेरमा निधन भएको छ । हालै सम्पन्न फिफा विश्वकपमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गरेका एडम्सको निधनले दक्षिण अफ्रिकी फुटबल क्षेत्रमा शोक छाएको छ ।
उनको निधनको कारणबारे भने अहिलेसम्म आधिकारिक रूपमा खुलाइएको छैन । एडम्सका प्रतिनिधि र अभिभावकले उनको निधनको पुष्टि गरेका छन् । एडम्सका मार्गदर्शक ब्रेन्डिन जोन्सनले परिवारका तर्फबाट गहिरो दुःख व्यक्त गरेका छन् ।
उनका अनुसार विश्वकपबाट फर्किएलगत्तै यस्तो दुःखद समाचारले सबैलाई स्तब्ध बनाएको छ । उनले विश्वकपपछि क्लबमा फर्किएर अफ्रिकी क्लब प्रतियोगिताको उपाधि जित्ने लक्ष्यसहित उनले तयारी गरिरहेको बेला अचानक मृत्यु भएको बताइएको छ ।
एडम्सले स्टेलेनबोस फुटबल क्लबबाट आफ्नो प्रतिभा प्रदर्शन गर्दै दक्षिण अफ्रिकी फुटबलमा पहिचान बनाएका थिए । त्यसपछि उनी मामेलोडी सन्डाउन्समा आबद्ध भएका थिए र राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका थिए । हालै सम्पन्न विश्वकपमा उनले गरेको प्रदर्शनले उनलाई दक्षिण अफ्रिकी फुटबलका उज्ज्वल भविष्यका रूपमा स्थापित गरेको थियो ।
एडम्सको असामयिक निधनप्रति दक्षिण अफ्रिकी फुटबल समुदाय, मामेलोडी सन्डाउन्स क्लब तथा राष्ट्रिय टोलीले गहिरो दुःख व्यक्त गरेका छन् । उनको निधनसँग सम्बन्धित थप विवरण सार्वजनिक भएपछि जानकारी आउने अपेक्षा गरिएको छ ।
३– काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको मृत्यु भएको छ । शनिबार बिहान आफ्नै घरमा शरीरमा पेट्रोल छर्केर आगो लगाएका राउतको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक राउतका भाइ दीपक राउतका अनुसार उनलाई परिवार, छिमेकी र स्थानीयको सहयोगमा उद्धार गरी अस्पताल पुर्याइएको थियो ।
४– पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ८३ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनी प्रदेशमा ३ जना, काठमाडौँमा २ जना र बागमती प्रदेशमा एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा ८३ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २९ जना घाइते भएका छन् भने काठमाडौँमा २२ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २१ जना घाइते भएका छन् । त्यस्तै लुम्बिनीमा ९ जना र कर्णालीमा २ घाइते भएका छन् ।
५– धनुषाको मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्व–पश्चिम लोकमार्गमा शनिबार बिहान उपप्रमुख सवार सरकारी गाडी र एम्बुलेन्स एकआपसमा ठोक्किँदा आठ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार बिहान बडहरीबाट विराटनगरतर्फ बिरामी बोकेर जाँदै गरेको ना.२ च २३२ नम्बरको एम्बुलेन्स र ढल्केवरबाट बर्दिबासतर्फ जाँदै गरेको धनुषाधाम नगरपालिकाकी उपप्रमुख विद्दा भुजेल सवार प्रदेश २–०२–००१ झ ००८२ नम्बरको सरकारी गाडी दुर्घटनामा परेको हो। दुर्घटनामा एम्बुलेन्स चालक दीपेन्द्रकुमार महतोसहित बसन्तकुमार सिंह, रेणुकुमारी महतो, राजुदेवी र लक्ष्मी महतो घाइते भएका छन्।
त्यस्तै सरकारी गाडी चालक बद्री भुजेल, धनुषाधाम नगरपालिकाकी उपप्रमुख विद्दा भुजेल र भीमराज भुजेल पनि घाइते भएका छन्। घाइतेमध्ये रेणुकुमारी महतोको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
अन्य सबैको अवस्था सामान्य रहेको छ। एम्बुलेन्समा सवार राजुदेवी पहिलेदेखि पक्षघातको उपचार गराइरहेकी बिरामी रहेको पनि जनाइएको छ। घाइते सबैलाई उपचारका लागि धनुषास्थित जानकी मेडिकल कलेज, रमदैयामा भर्ना गरिएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
६– एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालले कतारमाथि १०५ रनको फराकिलो जित हासिल गरेको छ । शनिबार मलेसियाको वायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाली निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १३० बनाएको थियो ।
नेपालले दिएको १३१ रनको विजयी लक्ष्य पछाएको कतार १२ ओभरमा २५ रन बनाउँदै अलाउट भयो । कतारका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कतारको लागि सरगम पटेलले सर्वाधिक ४ रन बनाइन् ।
नेपालका लागि बलिङतर्फ रचना चौधरी र रिया शर्माले ३–३ विकेट लिए । मनिषा उपाध्यायले २ र अनु कडायतले १ विकेट लिए । नेपालका लागि ओपनर ब्याटर सावित्री धामीले सर्वाधिक ५२ रनको अर्धशतकीय पारी खेलिन् ।
अर्की ओपनर साना प्रविणले २७ रन बनाइन् । अन्जिला पाठक २३ र तिर्शना विश्वकर्मा ५ रनमा अविजित रहे । कतारका लागि बलिङतर्फ लिहारा अवेशकाराले २ र फातिमा मुकादमले १ विकेट लिए । नेपालले दोस्रो खेल आइतबार सिङ्गापुरसँग खेल्ने छ ।
७– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार शिव शिखर सहकारीका ९६ जना पिडितले बचत फिर्ता पाएका हुन्।
हालसम्म शिव शिखर सहकारीका १२१३ जना बचतकर्ताले रकम फिर्ता पाएका छन् । पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ ।
यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ । सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ ।
समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रुपमा संचालन भइरहेको छ ।
८– प्रशान्त महासागर क्षेत्रमा सक्रिय शक्तिशाली आँधी ‘बावी’का कारण फिलिपिन्समा पहिरो र खराब मौसमका घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ । आँधी अब ताइवानतर्फ अघि बढिरहेको छ भने जापान, चीन र अन्य पूर्वी एसियाली मुलुकहरूले उच्च सतर्कता अपनाएका छन् ।
करिब एक हजार किलोमिटर क्षेत्रफलमा फैलिएको ‘बावी’ पछिल्ला धेरै दशकयताकै सबैभन्दा शक्तिशाली आँधीमध्ये एक मानिएको छ । आँधीको प्रभावका कारण ताइवान सरकारले विशेषगरी पहाडी क्षेत्रबाट १४ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।
यद्यपि आँधीको केन्द्र ताइवानमा प्रत्यक्ष प्रवेश नगर्ने अनुमान गरिए पनि केही क्षेत्रमा एक मिटरसम्म वर्षा हुन सक्ने चेतावनी दिइएको छ । ताइवानका राष्ट्रपति लाई चिङ तेले आँधी केही कमजोर भए पनि यसको दायरा अझै निकै ठूलो रहेकाले तीव्र हावा र भारी वर्षाले व्यापक असर पार्न सक्ने बताएका छन्।
खराब मौसमका कारण ९१७ अन्तर्राष्ट्रिय र सबै २७४ आन्तरिक हवाई उडान रद्द गरिएको छ । जापानमा पनि ‘बावी’को प्रभाव देखिन थालेको छ । दक्षिणी साकिशिमा द्वीपसमूहमा भारी वर्षा र तीव्र हावा चलेपछि मौसम अधिकारीहरूले बाढी र पहिरोको जोखिमबारे चेतावनी दिएका छन् ।
लोकप्रिय पर्यटकीय गन्तव्य इशिगाकीमा सबै हवाई उडान र जलयात्रा सेवा बन्द गरिएको छ भने स्थानीय बासिन्दाले खाद्यान्न र अत्यावश्यक सामग्रीको मौज्दात गर्न थालेका छन् । जापान एयरलाइन्सले १०० भन्दा बढी उडान रद्द गर्दा करिब २० हजार यात्रु प्रभावित भएका छन् ।
आँधीका कारण हङकङ र ताइवानबीचका सबै साताअन्तका उडान रद्द गरिएका छन् । साथै पूर्वी चीनका हाङझाउ, निङ्बो र फुझोउ जाने केही उडान पनि स्थगित भएका छन् । ताइपेस्थित ताओयुआन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबारका सबै उडान रद्द गरिएको छ ।
चीनको राष्ट्रिय मौसम केन्द्रका अनुसार आँधीको अधिकतम हावाको गति अहिले करिब २०० किलोमिटर प्रतिघण्टा रहेको छ । यसअघि जुलाई ५ मा यसको गति २९० किलोमिटर प्रतिघण्टासम्म पुगेको थियो, जसलाई अमेरिकी अन्तरिक्ष निकाय नासाले पनि पुष्टि गरेको थियो ।
आँधीको केन्द्र नजिक लगातार १४४ किलोमिटर प्रतिघण्टाको हावा चलिरहेको छ भने झोक्काको गति १९८ किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने चेतावनी जारी गरिएको छ । यसअघि ‘बावी’ले अमेरिकी क्षेत्र गुआम, रोटा, साइपन र उत्तरी मारियाना द्वीपहरूमा ठूलो क्षति पु¥याएको थियो । आँधीका कारण विद्युत्का खम्बा र तार ढलेका, सडक डुबानमा परेका, भवनहरूमा क्षति पुगेको तथा समुद्री मार्गमा अवरोध सिर्जना भएको जनाइएको छ ।
अमेरिकी तटरक्षक बलले मौसममा सुधार आएपछि समुद्री मार्ग खुलाउन अवरोध हटाउने काम सुरु गरेको छ । मौसमविद्हरूले ‘बावी’ अझै पनि पूर्वी एसियाका विभिन्न क्षेत्रमा भारी वर्षा, तीव्र हावा, बाढी र पहिरोको जोखिम कायम रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।
९– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको ऐतिहासिक संरचनाको संरक्षण र सौन्दर्य अभिवृद्धिलाई प्राथमिकता दिँदै व्यापक पुनःसंरचना अभियानलाई तीव्रता दिएका छन् ।
यसअन्तर्गत ह्वाइट हाउसको प्रमुख प्रवेशद्वारका रूपमा परिचित ऐतिहासिक नर्थ पोर्टिकोका स्तम्भहरूको मर्मत तथा संरक्षण कार्य सुरु गरिएको छ । करिब १५० वर्षदेखि जम्दै आएको रङको तह हटाएर मूल ढुंगाको संरचनालाई सुरक्षित राख्ने काम भइरहेको छ ।
अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार पुनःसंरचनाको मुख्य उद्देश्य ह्वाइट हाउसको ऐतिहासिक पहिचान, मौलिक वास्तुकला र सांस्कृतिक सम्पदालाई अक्षुण्ण राख्दै यसको आकर्षणलाई थप सुदृढ बनाउनु हो ।
प्रशासनले भवनका पुराना स्तम्भ, बाहिरी भाग, उद्यान तथा अन्य ऐतिहासिक संरचनाको संरक्षण परम्परागत निर्माण शैलीअनुसार गरिरहेको जनाएको छ, ताकि भवनको मौलिक स्वरूप र ऐतिहासिक गरिमा जोगाइराख्न सकियोस् ।
मर्मतका क्रममा आधुनिक प्रविधि र संरक्षण विधिको प्रयोग गरिए पनि भवनको ऐतिहासिक स्वरूपमा कुनै असर नपर्ने विषयमा विशेष ध्यान दिइएको छ । नर्थ पोर्टिको क्षेत्रमा अहिले ठूलो परिमाणमा अस्थायी संरचना निर्माण गरी विज्ञहरूको टोलीले ढुंगाको अवस्था परीक्षण, सफाइ तथा आवश्यक मर्मतको काम गरिरहेको छ । राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसको हरेक सानो–ठूलो कमजोरीमा आफूले प्रत्यक्ष चासो दिने बताएका छन् ।
उनका अनुसार अघिल्ला प्रशासनहरूले भवनको संरक्षणमा पर्याप्त ध्यान नदिएकाले अहिले आवश्यक मर्मत गर्नुपरेको हो । उनले ऐतिहासिक भवनको संरक्षणलाई सरकारको महत्त्वपूर्ण जिम्मेवारीका रूपमा लिएको पनि उल्लेख गरेका छन् ।
अमेरिकी गृहमन्त्री डग बर्गमका अनुसार राष्ट्रपति ट्रम्प भवनका सानातिना क्षति वा चिरासमेत तत्कालै देख्ने र त्यसको मर्मत गर्न सम्बन्धित निकायलाई निर्देशन दिने गर्छन् । उनले पुनःसंरचनाको काम तीव्र गतिमा अघि बढिरहेको र निर्धारित समयभित्र सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिएका छन् । राष्ट्रपति पद सम्हालेयता ट्रम्पले ह्वाइट हाउसका विभिन्न भागमा परिवर्तन गराइसकेका छन् ।
ओभल कार्यालयमा नयाँ सजावट गरिएको छ भने रुजवेल्ट कक्ष र मन्त्रिपरिषद् कक्षको भित्री संरचनामा पनि सुधार गरिएको छ । त्यसैगरी, ह्वाइट हाउस परिसरभित्र रहेको प्रसिद्ध रोज गार्डेनको एक भागलाई पनि नयाँ स्वरूप दिइएको छ । प्रशासनका अनुसार यी सबै काम ह्वाइट हाउसको ऐतिहासिक महत्व जोगाउँदै भविष्यका पुस्ताका लागि सुरक्षित राख्ने दीर्घकालीन योजनाअन्तर्गत भइरहेको हो ।
१०– विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले अति महत्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक एक वर्षसम्म सञ्चारमाध्यमहरूलाई अन्तर्वार्ता नदिने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै मन्त्री पुनले ट्राफिक जरिबानाको विषयमा दिएको अभिव्यक्तिका कारण विवादमा परेपछि अति महत्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक एक वर्षसम्म सञ्चारमाध्यमहरूलाई अन्तर्वार्ता नदिने घोषणा गरेका हुन् ।
साथै उनले अटेर गर्ने, अपराध गर्नेहरुलाई आवश्यक जरिवाना तथा दण्ड सजाय नगरे देश र समाज कस्तो हुन्छ ? भन्दै प्रश्न समेत गरेका छन् । उनले भने– ’आज देखि मैले कुनै पनि ठुला साना युटुवर सहित सोसल मिडियाहरु र पत्रकारहरु कसैलाई पनि अति महत्वपूर्ण सार्वजनिक महत्वका विषय बाहेक एक बर्ष सम्म एक शब्द पनि अन्तरवार्ता दिने छैन, छैन, छैन ।
केहि दिन अगाड़ी ट्राफिक जरिवाना सम्वन्धि कुरामा मलाई केहि थाहा छैन भन्दा भन्दै पनि उनीहरुले कोट्याई कोट्याई सोधेको थिए । मैले अटेर गर्नेलाई जरिवाना गर्नु पर्छ भनेको हो र ५० हजारको कुरा उनीहरुले नै निकालेको हो । अटेर गर्ने, अपराध गर्नेहरुलाई आवश्यक जरिवाना तथा दण्ड सजाय नगरे देश र समाज कस्तो हुन्छ ? आफैले नै कल्पना गनुहोस् ।’
११– खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ मा मजदुरीको रकम माग्न गएका एक व्यक्तिको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार असार २५ गते दिउँसो करिब १२ बजे स्थानीय ३८ वर्षीय ध्रुव भन्ने भक्तबहादुर अधिकारी मजदुरी गरेको रकम माग्न ५७ वर्षीय तिलबहादुर सार्कीको घर पुगेका थिए।
सोही क्रममा तिलबहादुर सार्कीलगायतले खुकुरी प्रहार गर्दा अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा तिलबहादुर सार्कीलाई असार २५ गते नै पक्राउ गरिएको थियो ।
त्यसपछि असार २६ गते ५२ वर्षीया भोटीमाया सार्की र २२ वर्षीया सीता सार्कीलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरूमाथि कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
१२– संयुक्त अरब इमिरेट्स (युएई) का आधिकारिक मान्यता नपाएका कलेजमा नेपाली विद्यार्थीलाई अध्ययनका लागि पठाई ठगी गरेको आरोपमा नौ जना कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूले युएईको उच्च शिक्षा मन्त्रालयअन्तर्गतको सम्बन्धित निकायबाट मान्यता नपाएका शैक्षिक संस्थामा विद्यार्थी भर्ना गराउँदै त्यहाँको अध्ययनलाई फ्रान्स, अष्ट्रेलियालगायतका मुलुकका विश्वविद्यालयमा क्रेडिट ट्रान्सफर गर्न सकिने भन्दै झुक्याएर ठगी गरेको आरोप छ ।
काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर प्रहरीले एडुपोर्ट प्रालि, वेस्टफोर्ड एजुकेसन प्रालि, प्रोप एभिएसन प्रालि र एस्पायर ग्लोबल प्रालिसँग आबद्ध रुपक कोइराला, राजेश भण्डारी, सन्तोष खतिवडा, चिन्टु श्रेष्ठ (सोनी श्रेष्ठ), सुरेन्द्र महर्जन, दिवस पोखरेल, मनित आचार्य, शेखर पाण्डे र विशाल चापागाईंलाई पक्राउ गरेको जनाएको छ । उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
१३– इटालीका यानिक सिनरले सात पटकका विम्बल्डन विजेता नोभाक जोकोभिचलाई सोझो सेटमा पराजित गर्दै विम्बल्डन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ फाइनलमा स्थान बनाएका छन् ।
सेमिफाइनलमा साविक विजेता सिनरले सर्बियाका अनुभवी खेलाडी जोकोभिच ६–४, ६–४ र ६–४ को सहज हारसहित बाहिरिएका हुन् । दुई घण्टा २० मिनेटसम्म चलेको खेलमा सिनरले सुरुदेखि नै आक्रामक प्रदर्शन गर्दै जोकोभिचलाई खेलमा फर्किने अवसर दिएनन् । ३९ वर्षीय जोकोभिच आठौँ विम्बल्डन उपाधि जित्दै रोजर फेडेररको कीर्तिमान बराबरी गर्ने लक्ष्यमा थिए ।
तर यस संस्करणमा लगातार कठिन खेल खेलेका उनी सेमिफाइनलमा सिनरको उत्कृष्ट प्रदर्शनअघि निरीह देखिए । सिनरले शक्तिशाली सर्भिस, लगातार सट र उत्कृष्ट रक्षात्मक खेल प्रदर्शन गर्दै अनुभवी प्रतिद्वन्द्वीलाई दबाबमा राखे । फ्रेन्च ओपनबाट अप्रत्याशित रूपमा बाहिरिएपछि विम्बल्डन पुगेका २४ वर्षीय सिनरले प्रतियोगिताभर आफ्नो लय सुधार्दै आएका थिए ।
सेमिफाइनलमा उनले करिअरकै उत्कृष्ट सर्भिस प्रदर्शनमध्ये एक गर्दै धेरै ऐस प्रहार गरे भने जोकोभिचलाई प्रभावकारी रूपमा प्रतिरक्षा गर्ने अवसर नै दिएनन् । अब आइतबार हुने उपाधि भिडन्तमा सिनरले जर्मनीका अलेक्जेन्डर ज्भेरेभसँग प्रतिस्पर्धा गर्नेछन्। ज्भेरेभले अर्को सेमिफाइनलमा बेलायतका आर्थर फेरीलाई ७–६ (७–०), ६–२ र ६–४ ले पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् ।
१४– पृथ्वीचोकमा सुविधा सम्पन्न आधुनिक बसपार्क निर्माण गर्ने पोखरा महानगरपालिकाको योजना क्रमबद्ध रूपमा अघि बढेको छ । बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले पेस गरेका कागजातको अध्ययन तथा छानबिन गर्न गठित समितिले आफ्नो विस्तृत प्रतिवेदन महानगरपालिकालाई बुझाएको छ। समितिका संयोजक तथा पोखरा महानगरपालिकाका प्रशासन महाशाखा प्रमुख कृष्णप्रसाद तिवारीले महानगर प्रमुख धनराज आचार्यसमक्ष ६२७ पृष्ठको प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
प्रतिवेदन बुझ्दै महानगर प्रमुख आचार्यले यसलाई महानगरका लागि महत्त्वपूर्ण दस्ताबेजका रूपमा लिइएको बताउँदै आवश्यक अध्ययन र विश्लेषणपछि उपयुक्त समयमा सार्वजनिक गरिने जानकारी दिए । उनले आधुनिक बसपार्क निर्माणको काम व्यवस्थित, पारदर्शी र कानुनी प्रक्रियाअनुसार अगाडि बढाइने उल्लेख गर्दै बसपार्क क्षेत्रमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको उचित व्यवस्थापन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
१५– ओपनएआईले आफ्नो कृत्रिम बुद्धिमत्तामा आधारित वेब ब्राउजर च्याटजिपिटी एटलस आगामी अगस्ट ९ देखि बन्द गर्ने घोषणा गरेको छ । कम्पनीका उत्पादन टोलीका सदस्य जेम्स सनले सामाजिक सञ्जाल एक्समार्फत यसको जानकारी दिएका हुन् ।
उनका अनुसार एटलस बन्द भए पनि त्यसका प्रविधि र कृत्रिम बुद्धिमत्ता सम्बन्धी क्षमता कम्पनीका अन्य उत्पादनमा समावेश गरिनेछ । सनले एटलस प्रयोगकर्ताबाट प्राप्त अनुभवका आधारमा वेब ब्राउजिङसँग सम्बन्धित नयाँ सुविधा च्याटजिपिटीका अन्य सेवामा ल्याइने बताए । कम्पनीले आगामी दिनमा एप तथा इमेलमार्फत प्रयोगकर्तालाई विस्तृत जानकारी उपलब्ध गराउने जनाएको छ ।
च्याटजिपिटी एटलस सन् २०२५ अक्टोबर २१ मा सार्वजनिक गरिएको ओपनएआईको पहिलो वेब ब्राउजर थियो । यसमा च्याटजिपिटीलाई प्रत्यक्ष रूपमा ब्राउजिङ अनुभवसँग जोडिएको थियो । सुरुआतमा यो म्याक सञ्चालन प्रणालीमा मात्रै उपलब्ध थियो भने अनुसन्धान, योजना निर्माण र बुकिङजस्ता काम गर्न सक्ने ‘एजेन्ट मोड’ पनि समावेश गरिएको थियो ।
विन्डोज, आईओएस र एन्ड्रोइड संस्करण ल्याउने घोषणा गरिए पनि ती सार्वजनिक हुन सकेनन् । एटलस बन्द भएसँगै कम्पनीले आफ्नो नयाँ जिपिटी– ५.६ मोडेल र ब्राउजरसम्बन्धी नयाँ सुविधालाई च्याटजिपिटी वर्क नामबाट एकीकृत गर्ने भएको छ ।
यसअन्तर्गत डेस्कटप एपभित्रै पूर्ण क्षमताको ब्राउजर, क्लाउडमा आधारित कार्य मोड तथा गुगल क्रोमका लागि नयाँ साइड च्याट विस्तार सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ । यी सुविधामार्फत प्रयोगकर्ताले ब्राउजिङ, अनुसन्धान, कोड लेखन र अन्य कृत्रिम बुद्धिमत्ता सेवाहरू एउटै प्रणालीबाट प्रयोग गर्न सक्नेछन् ।
ओपनएआईका अनुसार एटलसलाई कम्पनीकै विशेष वेब संरचनामा विकास गरिएको थियो, जसले छिटो सञ्चालन, स्थिरता र म्याक प्रणालीसँग सहज एकीकरण जस्ता सुविधा प्रदान गरेको थियो ।
कम्पनीले अब छुट्टाछुट्टै एप विकास गर्नुको सट्टा आफ्ना सबै प्रमुख कृत्रिम बुद्धिमत्ता सेवा एउटै मञ्चमा समेट्ने रणनीति अपनाएको जनाएको छ । यसबाट प्रयोगकर्ताले अलग ब्राउजर स्थापना नगरी च्याटजिपिटीभित्रै ब्राउजिङ, अनुसन्धान, कोडिङ र अन्य सेवा प्रयोग गर्न सक्ने अपेक्षा गरिएको छ ।
१६– विश्वका प्रमुख तेल उत्पादक राष्ट्रमध्ये एक रुसमा पेट्रोल र डिजेलको अभाव चुलिँदै गएको छ । राजधानी मस्कोसहित विभिन्न सहरका पेट्रोल पम्पमा सवारीसाधनको लामो लाइन देखिन थालेको छ भने धेरै स्थानमा इन्धन सकिएपछि पम्प नै बन्द भएका छन् ।
सर्वसाधारणले घण्टौँ लाइन बसेर इन्धन भर्नुपरेको अवस्था छ । कतिपय क्षेत्रमा सीमित परिमाणमा मात्र इन्धन वितरण गरिएको छ भने कन्टेनरमा इन्धन बिक्रीसमेत रोकिएको छ । स्थानीय बासिन्दाका अनुसार स्थिति दिनप्रतिदिन जटिल बन्दै गएको छ ।
मस्कोका स्थानीय पेट्रोलको मूल्य बढ्दै गएको र लामो यात्रा गर्नसमेत कठिन भएको बताएका छन् । युक्रेनका ड्रोन र क्षेप्यास्त्र आक्रमणले तेल प्रशोधन उद्योग प्रभावित भए पनि समस्या त्यसमा मात्र सीमित नरहेको र तयारीको कमी पनि जिम्मेवार रहेको स्थानीयले बताएका छन् । युक्रेनसँगको युद्ध पाँचौँ वर्षमा प्रवेश गरिसकेको अवस्थामा त्यसको प्रत्यक्ष असर अहिले रुसभित्र देखिन थालेको विश्लेषण गरिएको छ ।
पछिल्ला महिनाहरूमा युक्रेनी ड्रोन र क्षेप्यास्त्र आक्रमणले रुसका तेल प्रशोधन केन्द्रलाई लगातार निशाना बनाइरहेका छन् । यसैबीच सरकारले अन्य देशबाट इन्धन आयात बढाउने, मूल्यमा अनुदान दिने तथा कम गुणस्तरको इन्धन बिक्री गर्न अनुमति दिने निर्णय गरेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका आक्रमणले समस्या सिर्जना गरेको स्वीकार गरे पनि अवस्था गम्भीर नभएको दाबी गरेका छन् ।
यद्यपि आर्थिक सूचकहरूले सरकारमाथिको दबाब बढ्दै गएको संकेत गरेका छन्। स्वतन्त्र सर्वेक्षण संस्थाहरूका अनुसार राष्ट्रपति पुटिनप्रतिको जनविश्वास र लोकप्रियतामा गिरावट आएको छ भने देश सही दिशामा अघि बढिरहेको विश्वास गर्ने नागरिकको संख्या पनि घटेको छ । अर्थविद्हरूले इन्धन संकट लामो समयसम्म कायम रहे यसले रुसको आर्थिक वृद्धिदरमा ठूलो असर पार्ने चेतावनी दिएका छन् । तर अन्तर्राष्ट्रिय विश्लेषकहरूको भनाइमा जनअसन्तुष्टि बढे पनि त्यसकै कारण पुटिनले युद्धसम्बन्धी आफ्नो नीति तत्काल परिवर्तन गर्ने सम्भावना भने कम देखिन्छ ।
१७– पोर्चुगल फुटबल महासंघले राष्ट्रिय टोलीको नयाँ मुख्य प्रशिक्षकका रूपमा ७१ वर्षीय जर्ज जेससलाई नियुक्त गरेको छ । विश्वकपबाट पोर्चुगल बाहिरिएपछि सम्झौता सकिएसँगै रोबर्टो मार्टिनेज बाहिरिएपछि जेससलाई टोलीको जिम्मेवारी दिइएको हो । जेससले पोर्चुगल फुटबल महासंघसँग सन् २०३० जुनसम्मका लागि चार वर्षको सम्झौता गरेका छन् । आफ्नो लामो प्रशिक्षक जीवनमा उनले पहिलो पटक कुनै राष्ट्रिय टोलीको नेतृत्व गर्न लागेका हुन् । पोर्चुगलले विश्वकपमा निराशाजनक प्रदर्शन गरेपछि नयाँ प्रशिक्षक नियुक्त गर्न हतारिएको छ ।
सन् २०२५ को नेसन्स लिग विजेता पोर्चुगल यसपटक अन्तिम १६ मा स्पेनसँग १–० ले पराजित हुँदै क्वार्टरफाइनल पुग्न असफल भएको थियो । जेससले गत सिजन साउदी अरबको अल नासरलाई साउदी प्रो लिगको उपाधि दिलाएका थिए ।
त्यसपछि उनले साउदी अरबमै बस्ने प्रस्ताव अस्वीकार गर्दै पोर्चुगलको राष्ट्रिय टोली सम्हाल्ने निर्णय गरेका हुन् । अल नासरमा रहँदा उनले पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र जोआँ फेलिक्सलाई प्रशिक्षण दिएका थिए । उनले त्यसअघि अल हिलाल, स्पोर्टिंग सिपि, बेनिफिका जस्ता क्लबको प्रशिक्षक बनेका थिए ।
१८– राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि काठमाडौं महानगरपालिकाले गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिनमा पूर्ण सहयोग गर्ने जनाएको छ ।
महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले विज्ञप्ति जारी गर्दै दिवंगत नेपालीका परिवारलाई मानवीय सहयोग, रोजगारीको व्यवस्था तथा उनका सन्ततिलाई निःशुल्क शिक्षा उपलब्ध गराउने निर्णय कार्यपालिका बैठकबाट विधिसम्मत रूपमा गर्ने पनि घोषणा गरेको छ । असार २५ गते राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा शुक्रबार निधन भएको थियो ।
विज्ञप्तिमा नेपाल सरकारको गृह मन्त्रालयले घटनाको निष्पक्ष छानबिनका लागि समिति गठन गर्ने निर्णय गरेको जानकारी सञ्चारमाध्यमबाट प्राप्त भएको उल्लेख गर्दै उक्त समितिलाई तथ्यगत अनुसन्धानमा काठमाडौं महानगरपालिकाले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । छानबिनबाट प्राप्त सुझावका आधारमा आवश्यक सुधारात्मक तथा जिम्मेवार कदम चालिने पनि महानगरले स्पष्ट पारेको छ । महानगरपालिकाले नेपाल सरकारसँग समन्वय र सहकार्य गर्दै यस्ता घटना भविष्यमा दोहोरिन नदिन आवश्यक समाधानका उपाय पहिचान गर्ने, असल अभ्यास विकास गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएको छ । साथै, यस संवेदनशील अवस्थामा संयमित रहन र धैर्य धारण गर्न सबैमा अपिल गरेको छ ।
१९– युरोपेली सङ्घले मेटामाथि फेसबुक र इन्स्टाग्रामको डिजाइन प्रयोगकर्तालाई लामो समयसम्म सामाजिक सञ्जालमा अल्झाइराख्ने गरी बनाएको आरोप लगाएको छ । युरोपेली आयोगले अनन्त स्क्रोल, आफैँ चल्ने भिडियो, प्रयोगकर्ताको रुचिअनुसार निरन्तर सामग्री देखाउने प्रणाली र बारम्बार आउने सूचना सन्देशजस्ता सुविधा प्रयोगकर्तालाई लगातार सामग्री हेर्न प्रेरित गर्ने भन्दै ती सुविधामा परिवर्तन गर्न मेटालाई निर्देशन दिएको छ ।
आयोगले विशेषगरी बालबालिका र किशोरकिशोरीको शारीरिक तथा मानसिक स्वास्थ्यमा यस्ता सुविधाले पार्ने असरको पर्याप्त मूल्याङ्कन मेटाले नगरेको जनाएको छ । अभिभावकका लागि उपलब्ध गराइएका नियन्त्रणका सुविधा प्रभावकारी नभएको र सजिलै निष्क्रिय बनाउन सकिने भएकाले बालबालिकाको सुरक्षा पर्याप्त रूपमा सुनिश्चित हुन नसकेको आयोगको निष्कर्ष छ ।
युरोपेली आयोगले अनन्त स्क्रोल र आफैँ चल्ने भिडियोजस्ता सुविधा स्वतः सक्रिय हुने व्यवस्था हटाउन तथा प्रयोगकर्तालाई समय–समयमा पर्दाबाट विश्राम लिन प्रेरित गर्ने उपाय अपनाउन सुझाव दिएको छ । साथै सामग्री सिफारिस गर्ने प्रणालीले प्रयोगकर्ताको सक्रियता मात्र होइन, सुरक्षा र हितलाई पनि प्राथमिकता दिनुपर्ने आयोगको भनाइ छ । मेटाले भने ती आरोपसँग पूर्ण रूपमा सहमत नरहेको जनाएको छ ।
कम्पनीले किशोरकिशोरीको सुरक्षाका लागि ‘टिन एकाउन्ट’ सुविधा लागू गरिएको, जसबाट अभिभावकले रातिको समयमा इन्स्टाग्राम प्रयोग रोक्न र दैनिक पर्दा प्रयोगको समय सीमा निर्धारण गर्न सक्ने जनाएको छ । सन् २०२४ मा डिजिटल सेवा ऐनअन्तर्गत अनुसन्धान सुरु गरेको युरोपेली सङ्घले नियम उल्लङ्घन पुष्टि भए मेटालाई वार्षिक विश्वव्यापी आम्दानीको ६ प्रतिशतसम्म जरिवाना गर्न सक्ने जनाएको छ ।
२०– मिकेल मेरिनोले खेलको अन्तिम समयमा निर्णायक गोल गर्दै स्पेनलाई बेल्जियममाथि २–१ को रोमाञ्चक जित दिलाएका छन् । यो जितसँगै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । खेल १–१ को बराबरीतर्फ अघि बढिरहेको अवस्थामा दोस्रो हाफमा मैदान प्रवेश गरेका मेरिनोले ८८औँ मिनेटमा विजयी गोल गरेका थिए । पाउ कुबार्सीको करिब २५ गज टाढाबाट आएको प्रहार बेल्जियमका वैकल्पिक गोलरक्षक सेन्ने लामेन्सले नियन्त्रणमा लिन नसक्दा फर्किएको बललाई मेरिनोले नजिकैबाट जाली चुमाएका हुन् ।
उनी डानी ओल्मोको स्थानमा मैदान प्रवेश गरेको जम्मा ११७ सेकेन्डमै गोल गर्न सफल भए । स्पेनले ३०औँ मिनेटमा अग्रता लिएको थियो । पेड्रो पोरो र लामिन यमालको उत्कृष्ट तालमेलपछि आएको अवसरमा ओल्मोको पहिलो प्रहार थिबाउट कुर्टुवाले रोके पनि फर्किएको बललाई फाबियान रुइजले गोलमा परिणत गरेका थिए । तर पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा चाल्र्स डे केटेलारेले टिमोथी कास्टान्येको क्रसलाई हेडमार्फत गोल गर्दै बेल्जियमलाई बराबरीमा फर्काएका थिए । यो गोलसँगै स्पेनले यस विश्वकपमा ६४९ मिनेटपछि पहिलो पटक गोल व्यहोरेको हो ।
दोस्रो हाफमा बेल्जियमले पेनाल्टीको माग गरेको थियो । स्पेनका आयमेरिक लापोर्टको हेडर आफ्नै टोलीका रोड्रीको हातमा लागे पनि निर्णायकले खेल जारी राखेका थिए । यता स्पेनका मिकेल ओयारसाबालको प्रहारलाई कुर्टुवाले उत्कृष्ट बचाउ गरेका थिए । तर ७१औँ मिनेटमा बेल्जियमका अनुभवी गोलरक्षक कुर्टुवा मांसपेशीमा चोट लागेपछि मैदान छाड्न बाध्य भए । उनको स्थानमा आएका लामेन्सले कुबार्सीको प्रहार नियन्त्रण गर्न नसक्दा मेरिनोले त्यसको पूरा फाइदा उठाए र स्पेनलाई अन्तिम चारमा पु¥याए । सन् २०१० को विश्व विजेता स्पेनले अब सेमिफाइनलमा युरोपेली च्याम्पियनका रूपमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । यो स्पेनको विश्वकप इतिहासमा दोस्रो सेमिफाइनल यात्रा हो ।