काठमाडौं । नेक्सजेन म्यानेजमेन्टले काठमाडौंमा अत्याधुनिक ल्याब सञ्चालनमा ल्याउने भएको छ ।
ल्याब सञ्चालनमा लागि कम्पनीले मंगलम डायग्नोष्टिक सेन्टरसँग विशेष सम्झौता समेत गरेको छ । गत बिहीबार वीरगञ्जमा भएको त्यससम्बन्धी सहमतिपत्रमा नेक्सजेन म्यानेजमेन्टका अध्यक्ष रमेश कुमार भट्टराई र मंगलम डायग्नोष्टिक सेन्टरका अध्यक्ष प्राडा अमरनाथ ठाकुरले हस्ताक्षर गरेका छन् ।
वीरगञ्ज मुख्य कार्यालय रहेको मंगलम डायग्नोष्टिक सेन्टरले विशेषज्ञ डाक्टरहरू राखेर वीरगञ्जलगायत जनकपुरमा पनि अत्याधुनिक ल्याब सेवा प्रदान गरिरहेको छ । अब काठमाडौंमा अत्याधुनिक र एकीकृत डायग्नोसिस सेवा दिने लक्ष्य रहेको सेन्टरका अध्यक्ष प्राडा ठाकुरले जानकारी दिए ।
काठमाडौंमा डायग्नोसिस सेवा दिने ल्याबहरू खुल्ने र बन्द हुने क्रम जारी रहेको छ । हस्पिटलहरूको आफ्नै ल्याब पनि छ । तर, अहिले पनि विश्वसनीय डायग्नोसिसका लागी नेपालीहरू भारत लगायत अन्य देश गइरहेका छन् । सोही अवस्थालाई हेरेर विश्वसनीय र भरपर्दो डायग्नोसिस सेवा दिन काठमाडौंमा छुट्टै ल्याब सञ्चालनको तयारी गरिएको नेक्सजेनले बताएको छ ।
सम्झौताबमोजिम नेक्सजेन म्यानेजमेन्टले काठमाडौंमा सञ्चालित ल्याबहरूको अवस्था अध्ययन गर्नेछ । हस्पिटल र ल्याबमा आउने बिरामीहरू डायग्नोसिस रिर्पोटबाट सन्तुष्ट छन् वा छैनन् अध्यन गर्नेछ । काठमाडौंको आवश्यकता अनुसार कस्तो र कुन क्षमताको डायग्नोसिस सेन्टरको आवश्यकता छ, सोको लागि कति लगानी आवश्यक छ ? सो सबै अध्ययन अनुसन्धान गरी नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालिले मंगलम डायग्नोष्टिक सेन्टर प्रालिलाई प्रतिवेदन बुझाउने छ । त्यसपश्चात नेक्सजेनले थप लगानीकर्ता खोज्ने र मंगलम डायग्नोष्टिक सेन्टर प्रालि आफैले पनि लगानी गरी आफ्नै व्यवस्थापनमा नयाँ अत्याधुनिक डायग्नोष्टिक सेन्टर सञ्चालन गर्ने बताइएको छ ।
नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालि सम्पत्ति व्यवस्थापन गर्ने कम्पनी हो । यसले चलिरहेको उद्योग व्यवसायलाई सुव्यवस्थित सञ्चालनका लागि परामर्श सेवा दिनेदेखि लगानीकर्ता जुटाउनेसम्मको सेवा दिन्छ । साथै नयाँ उद्योग व्यवसाय सञ्चालन गर्नको लागि सोसम्बन्धी अध्ययन अनुसन्धान गर्ने र व्यवसाय सञ्चालनका लागि आवश्यक सबै व्यवस्था गर्न परामर्श सेवा प्रदान गर्छ ।
नेक्सजेनले हालै काठमाडौंमा सम्पन्न भएको लगानी सम्मेलनमा कोरियन कम्पनीसँग सम्झौता गरेको छ । कोरियन पार्टीले नेपालमा सञ्चालन गर्ने ६ अर्ब रूपैयाँ लगानीको उद्योग स्थापनामा सहजीकरण र परामर्श सेवा दिने सम्झौता पनि नेक्सजेन म्यानेजमेन्टले गरिसकेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
FACEBOOK COMMENTS